देशभर मनसुनी प्रभाव कायम, भारी वर्षाको सम्भावना !

काठमाडौं – देशभर हाल सक्रिय मनसुनी वायुले विभिन्न भू–भागमा वर्षा गराइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सामान्यभन्दा केही उत्तरतिर सक्रिय देखिएको छ।

शनिबार बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको जानकारी दिँदै महाशाखाले दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने प्रक्षेपण गरेको छ। साथै, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसँगै पहाडी भूभागका केही स्थानहरू तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको जनाइएको छ।

शनिबार रातिको मौसम पनि आंशिकदेखि सामान्य बदली हुने पूर्वानुमान गरिएको छ। रातिको समयमा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा चट्याङ र मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने तीमध्ये कोशी, मधेश र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने उल्लेख गरिएको छ।

त्यस्तै, राति पनि उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ। महाशाखाले वर्षासँगै संभावित बाढी, पहिरो तथा डुबान जस्ता विपद्‌बाट सतर्क रहन सार्वजनिक सचेतना अपनाउन आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्