पाँचपोखरी : प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अनुपम संगम

 

सिन्धुपाल्चोक – पाँचपोखरी सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा अवस्थित पाँचपोखरी थाङपालधाप गाउँपालिका–३ मा रहेको एक अनुपम गन्तव्य हो, जसले प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको अद्वितीय संगम प्रस्तुत गर्छ। समुद्री सतहदेखि ४१०० मिटरको उचाइमा अवस्थित पाँचपोखरी हिमाली भूगोलको काखमा रहेको पवित्र धार्मिक तीर्थस्थल र पर्यटकीय आकर्षण हो, जसले आन्तरिक तथा बाह्य पर्यटकलाई हरपल लोभ्याइरहेको छ।

पाँचपोखरी भन्ने नाम नै पाँचवटा छुट्टा छूट्टै तालहरूको समुच्चयबाट राखिएको हो। यिनलाई हिन्दू दर्शनअनुसार पृथ्वी, जल, वायु, अग्नि र आकाश पाँच तत्वको प्रतीक मानिन्छ। यहाँको पानी शुद्ध र शान्त छ, जसले मन, मस्तिष्क र आत्मालाई शुद्ध पार्ने धार्मिक विश्वास रहिआएको छ। श्रावण पूर्णिमामा यहाँ विशेष मेला लाग्छ। विशेषगरी जनै पूर्णिमामा हजारौँ भक्तजनहरूको आगमनले यो क्षेत्र भक्तिभावले भरिन्छ। विशेषतः तामाङ, शेर्पा, गुरुङ, मगर र अन्य पहाडी समुदायको सांस्कृतिक र धार्मिक आस्थाले यो ठाउँ अझै समृद्ध बनेको छ।

पाँचपोखरीको पदमार्ग ताम्साङ फेदी, चिउरेनिबोट, नासिमपाट, डुकाङ, पाऊवा हुँदै अग्लो डाँडामा पुगेर खुला आकाशमुनी पोखरीको काखमा विश्राम दिने यात्राको अनुभूति गराउँछ। मार्गभरि विविध जडीबुटी, बनस्पति, वन्यजन्तु, फूलफूल र हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ। बिहानको सुनौलो किरण पोखरीमा पर्दा बनाउने दृष्य अविस्मरणीय हुन्छ।

सरकारले यस क्षेत्रलाई विशेष धार्मिक पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने नीति लिएको छ। स्थानिय तह, पर्यटन मन्त्रालय र निजी क्षेत्रबीच सहकार्य बढ्दै गएको छ। होमस्टे सञ्चालन, पर्यटक मैत्री संरचना निर्माण र पदयात्रा मार्ग विस्तार हुँदै गर्दा पाँचपोखरीले भविष्यमा अन्तर्राष्ट्रिय धार्मिक पर्यटक पनि तान्न सक्ने अपेक्षा गरिएको छ।

पाँचपोखरी केवल धार्मिक आस्थाको केन्द्र होइन, यो स्थानीय अर्थतन्त्रको सम्भावनाको ढोका पनि हो। कृषि, पशुपालन, जडीबुटी संकलन, हस्तकलाजस्ता क्षेत्र पाँचपोखरीको पर्यटनसँग समाहित भएर समृद्धिको मार्ग खोल्ने दिशामा छन्। पाँचपोखरी केवल एक तीर्थ होइन, यो नेपाली धर्म, संस्कृति, प्रकृति र पहिचानको समागम हो। प्रकृतिको शान्तता, हिमाली हावाको स्पर्श, र भक्तिभावको अनुभूति खोज्ने जो-कोहीका लागि पाँचपोखरी एकपटक अवश्य पुग्नुपर्ने गन्तव्य हो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्