काठमाडाैँ— बुद्ध जन्मस्थल लुम्बिनी युनेस्कोको सम्भावित खतराको सूचीबाट एक वर्षका लागि मुक्त भएको छ। युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४७औं सेसनले लुम्बिनीलाई तत्कालका लागि सूचीमा नराख्ने निर्णय गरेको हो।
पेरिसमा आयोजित बैठकमा बुल्गेरियाका प्रोफेसर निकोले नेनोवको अध्यक्षतामा भएको छलफलपछि लुम्बिनीको संरक्षण र सुधारमा चालेका सकारात्मक कदमका आधारमा निर्णय गरिएको लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले जानकारी दिए।
उनका अनुसार कन्सेप्चुअल फिजिकल डेभलपमेन्ट, लुम्बिनी हेरिटेज कन्फेरेन्स, सेक्टर स्ट्राटेजी लगायतका कार्यक्रम, नीतिगत सुधार, एसओपी प्रतिवेदन, सम्पदास्थलको संरक्षण लगायतका प्रयासले युनेस्कोलाई आशावादी बनाएको हो। अब रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाइनेछ र प्रतिवेदनका आधारमा सूचीमा राख्ने वा नराख्ने टुंगो लाग्नेछ।
यसैबीच, गौतम बुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राजधानी तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पेरिसस्थित युनेस्को बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, तथा अन्य नेपाली टोलीले सक्रिय कूटनीतिक पहल गरिरहेको वरिष्ठ निर्देशक राईले बताए।
यसका लागि युनेस्कोले सन् १९९६ मै तिलौराकोटलाई सम्भावित सूचीमा राखेको थियो। तर, नेपाल सरकारले २०७८/७९ को नीति तथा कार्यक्रममार्फत यसको सूचिकीकरण गर्ने प्रतिबद्धता जनाएको थियो।
तिलौराकोट दरबार क्षेत्र बुद्धपूर्वकालीन तीन सय वर्ष अघिको विकसित सहर भएको प्रमाण उत्खननबाट फेला परिसकेको छ। २०१४ सालदेखि सुरु भएको उत्खननले यस क्षेत्रको ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक महत्व पुष्टि गरेको छ।
१४० बिघा क्षेत्रफलको कोरजोन लाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने कार्य अघि बढिसकेको छ। साथै, कुदान, गोटिहवा, निग्लीहवा, सिसनिया लगायतका स्थलहरूलाई पनि संरक्षित घोषणा गरी शाक्य गणराज्यका सम्पूर्ण अवशेषलाई सूचीकृत गर्ने योजना बनाइएको छ।






