काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ। उक्त बजेट आगामी आइतबार (असार २९) को नगरसभामा सार्वजनिक गरिनेछ।
महानगर प्रमुख बालेन शाहका अनुसार सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने र दिउँसो २ बजे नगरसभा आयोजना गरेर बजेट सार्वजनिक गरिने छ।
शुक्रबार सम्पन्न ४०औँ कार्यपालिका बैठकमा मेयर शाहले आगामी बजेटको रूपरेखा प्रस्तुत गरेका थिए। यसअघि राजस्व परामर्श समितिको बैठकले आगामी वर्षको लागि २५ अर्ब ११ करोड रुपैयाँको बजेट सीमा निर्धारण गरिसकेको थियो।
काठमाडौं महानगरको आगामी बजेटमा पूर्वाधार, शिक्षा, फोहोर व्यवस्थापन, प्रविधि र दिगो शहरी विकासलाई प्राथमिकता दिइने अनुमान गरिएको छ। नगरसभा र कार्यपालिका बैठकपछि विस्तृत बजेट विवरण सार्वजनिक हुने महानगर स्रोतले जनाएको छ।






