एनपीएल आयोजनामा मन्त्रीको अवरोध, नेपाली क्रिकेटको भविष्य अन्योलमा

काठमाडौं — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको तयारी तीव्र भइरहेका बेला खेलकुदमन्त्री तेजुलाल चौधरी नेतृत्वको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रतियोगितामाथि रोक लगाउने निर्देशन दिएको छ। प्रतियोगिता आयोजना नहुन सक्ने अवस्था देखिएपछि नेपाली क्रिकेटको भविष्य अन्योलमा परेको छ।
एनपीएलको पहिलो संस्करणले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्‍यो। सातै प्रदेशका प्रतिनिधित्वसहित आठ फ्रेन्चाइज टोलीबीच सम्पन्न प्रतियोगिता करिब १ सय करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। क्यानले १६ करोड ८९ लाख रुपैयाँ ‘बिडिङ’बाट उठाएको थियो भने खेलाडी पारिश्रमिकदेखि प्रसारण अधिकारसम्म नेपाली खेलमा अभूतपूर्व व्यावसायिकता देखिएको थियो।


प्रतियोगितामा नेपाली खेलाडीले इतिहासमै पहिलोपटक २० लाख रुपैयाँसम्म पारिश्रमिक पाए। अन्तर्राष्ट्रिय खेलाडीहरू शिखर धवन, मार्टिन गप्टिल, जिम्मी निशम, रवि बोपारा जस्ता नाम चलेका क्रिकेटरहरूको सहभागिताले एनपीएलको प्रतिष्ठा अझ उचो बनाएको थियो। प्रतियोगिता अन्तर्राष्ट्रिय च्यानल ‘स्टार स्पोर्ट्स’बाट समेत प्रशारण गरिएको थियो।
दोस्रो संस्करण आगामी नोभेम्बर–डिसेम्बरमा गर्ने तयारी भइरहेको बेलामा मन्त्री चौधरी नेतृत्वको राखेपले आयोजनामा अवरोध पुर्‍याउन थालेको हो। अख्तियारको उजुरीलाई आधार बनाएर राखेपले एनपीएलको तयारी स्थगित गर्न निर्देशन दिएको छ। राखेपकै लेटरहेडमा कार्यदल संयोजक रञ्जना प्रधानको हस्ताक्षरमा क्यानलाई छानबिन नसकिन्जेल कुनै कार्य नगर्न भनिएको छ।


क्यानका सचिव पारस खड्काका अनुसार राखेपले सोधेको प्रत्येक कागजात उपलब्ध गराइसकेको छ। तर, पटकपटक नयाँ कमिटी बनाउने र पुराना विघटन गर्ने कार्यले नियोजित असहयोग देखिएको उनको भनाइ छ। ‘छ महिनासम्म केही नबोली अहिले प्रतियोगिता रोक्न निर्देशन आउनु नै शंकास्पद हो,’ उनले भने।
राखेपले पछिल्लो वक्तव्यमा कार्यदलले परिषद्को लेटरहेड प्रयोग गर्न नहुने निर्देशन दिएको जनाएको छ। तर मन्त्री चौधरीले भने सो पत्रबारे अनविज्ञता जनाउँदै एनपीएल आयोजनामा राखेपको स्वीकृति आवश्यक पर्ने तर्क गरेका छन्। ‘गत वर्ष स्वीकृति नलिई आयोजना गरिएको हो, अब यस्तो हुन्न,’ मन्त्रीले भनेका छन्।


खेल विश्लेषकहरू मन्त्री चौधरीको चासो पारदर्शिता वा छानबिनभन्दा पनि क्यानले फ्रेन्चाइजसँग १० वर्षको सम्झौता गरिसकेको विषयमा भएको प्रतिक्रिया बताउँछन्। राखेपकै विगतका निर्णयका आधारमा सुरु भएको प्रतियोगितामा मन्त्रीले यसपटक आएर प्रश्न उठाउनु व्यवस्थापकीय हस्तक्षेप हो भन्ने आवाज चर्किँदै गएको छ।
एनपीएल-२ को तयारीमा रहेका फ्रेन्चाइज टिमहरू यसपटक अझ चर्चित खेलाडी ल्याउने योजनामा थिए। प्रधानमन्त्रीकै पहलमा रंगशाला पुनर्निर्माणसमेत भइरहेका बेला यस्तो रोकले नेपाली क्रिकेटको गति सुस्त हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्