काठमाडौँ — चालु आर्थिक वर्षको अन्तिम चार दिनमा मात्रै सरकारले ८२ अर्ब रूपैयाँभन्दा बढी खर्च निकासा गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २५ गते (बुधबार) मात्रै ३८ अर्ब ६१ करोड रूपैयाँ भुक्तानी गरिएको छ।
बुधबारको भुक्तानीमध्ये १४ अर्ब ९३ करोड चालु खर्च, २१ अर्ब ७३ करोड पुँजीगत खर्च र १ अर्ब ९४ करोड वित्तीय व्यवस्थापन शीर्षकमा भएको हो।
महालेखाका अनुसार वर्षको अन्तिम चार दिन आइतबारदेखि बुधबारसम्म क्रमशः १२ अर्ब १९ करोड, ११ अर्ब ९८ करोड, १९ अर्ब ४६ करोड र ३८ अर्ब ६१ करोड निकासा गरिएको छ।
सहमहालेखा नियन्त्रक सुशीला अर्यालका अनुसार एआई प्रणालीबाट सञ्चालन हुने सरकारी प्रणाली राति १२ बजेदेखि लक हुने भएकाले बुधबार रातिसम्मै थाती रहेका भुक्तानी फर्छ्यौट गरिएको हो।
विनियोजन ऐन र आर्थिक कार्यविधि नियमावलीले आर्थिक वर्षको अन्तिम सातामा नयाँ दायित्व सिर्जना गरी खर्च गर्न नपाइने व्यवस्था गरेको छ। तर, पहिलेका भुक्तानी फर्छ्यौट गर्ने सिलसिलामा अन्तिम साता ठूलो रकम निकासा हुँदै आएको छ।
यो वर्ष सरकारले १८ खर्ब ६० अर्बको बजेट विनियोजन गरेकामा १५ खर्ब ५ अर्ब रुपैयाँ खर्च भइसकेको छ। पुँजीगत खर्च ५९ प्रतिशत मात्र भएको छ भने चालु खर्च ८५.८२ प्रतिशत पुगेको छ।
गत वर्ष पनि प्रणाली बन्द भएपछि ५२ अर्ब रुपैयाँ खर्च गरिएको थियो। यस वर्ष पनि रसुवाको बाढीजस्ता आकस्मिक कारण देखाएर अन्तिम साता खर्च बढाइएको हो।






