आर्थिक पारदर्शितामा अपि हिमाल अब्बल बन्दै : ९४.३१ प्रतिशत बजेट खर्च विवरण सार्वजनिक

दार्चुला — सुदूरपश्चिम प्रदेशको विकट हिमाली क्षेत्र अपी हिमाल गाउँपालिकाले आर्थिक पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको लेखा विवरण सार्वजनिक गरेको छ। आर्थिक प्रशासन शाखामार्फत बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै गाउँपालिकाले चालु तथा पूँजीगत शीर्षकमा गरिएको खर्च, आम्दानी र कार्यान्वयनको प्रतिशतसहितको विस्तृत विवरण सार्वजनिक गरेको हो।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३२ करोड ८ लाख २२ हजार विनियोजन गरिएको थियो। सो बजेटमध्ये २८ करोड ९ लाख ३ हजार ६२० रुपैयाँ खर्च गरिएको छ, जसले ८७.५५ प्रतिशत कार्यान्वयन स्तर देखाएको छ । यो तथ्यले ग्रामीण तथा दुर्गम भेगका पालिकाहरूबीच अपी हिमाललाई उदाहरणीय बनाएको छ। पालिकाले पूँजीगत तर्फ ९ करोड ३८ लाख ५५ हजार मध्ये ८ करोड ३४ लाख ४४ हजार २ सय पन्ध्र रुपैँया ९१ पैसा अर्थात ८८.९१ प्रतिशत खर्च गरेको छ भने चालु तर्फ २२ करोड ६९ लाख ६७ हजार मध्ये १९ करोड ७४ लाख ५९ हजार ४ सय ४ रुपैँया ९ पैसा अर्थात ८७ प्रतिशत खर्च गरेको छ ।

गाउँपालिकाले वास्तविक आय प्राप्तको आधारमा ९४.३१ प्रतिशत बजेट खर्च गरेको छ । २९ करोड ७८ लाख ४५ हजार ४८० रुपैँया १९ पैसा वास्तविक आय रहेकोमा २८ करोड ९ लाख ३ हजार ६२० रुपैँया खुद व्यय भएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर रावल द्वारा हस्ताक्षरित सूचनामा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाप्रतिको आभार प्रकट गरिएको छ।

गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले आर्थिक विवरण सार्वजनिक गर्नु अपी हिमाल गाउँपालिकाको सुशासनप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए। उनले भने हामीले जनप्रतिनिधि भएर जनताको विश्वास जित्न पारदर्शी शासन प्रणालीलाई आधार बनाएका छौँ। आर्थिक वर्ष २०८१/८२ मा पारदर्शी ढंगले बजेट खर्च गरियो र त्यसको लेखाजोखा सार्वजनिक गरिनुले नागरिक उत्तरदायित्वलाई अझ बलियो बनाउनेछ।

उनका अनुसार आगामी दिनमा बजेट योजना, कार्यान्वयन र मूल्यांकनको प्रक्रियामा समेत नागरिक सहभागिता बढाइनेछ।

स्थानीय सरकारहरूले आर्थिक पारदर्शिता, समावेशी विकास र नागरिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता सुशासनको मूल मर्म हो। अपी हिमाल गाउँपालिकाले सार्वजनिक सूचनामार्फत आम नागरिकसमक्ष वित्तीय विवरण पेस गर्नुले जनताको विश्वास जित्ने सकारात्मक अभ्यासको आधार खडा गरेको छ। विकटता, भौगोलिक चुनौती र सीमित स्रोतबीच पनि अपी हिमाल गाउँपालिकाले देखाएको यो आर्थिक दक्षता र पारदर्शिता मुलुकका अन्य स्थानीय तहका लागि पनि प्रेरणादायी अभ्यास बन्ने विश्वास गरिएको छ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्