काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लिएर उठेका प्रश्नहरूमाथि नेकपा एमालेकी सचेतक सुनिता बरालले तीव्र आपत्ति जनाउँदै संसदलाई अफवाह फैलाउने मञ्च बनाउन नहुने स्पष्ट गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री ओलीसँग स्पेन गएका केही व्यक्ति फर्किनु नपरेको भन्ने आशयमा टिप्पणी गरेपछि सांसद बरालले प्रतिनिधिसभामा जवाफ दिँदै संसदको मर्यादामाथि प्रश्न उठाउने कार्य आपत्तिजनक भएको बताइन्।
“संसद गलत टिप्पणी गर्ने, अफवाह फैलाउने वा कुनै कुरा धैर्यपूर्वक नसुन्ने ठाउँ होइन,” उनले भनिन्, “प्रधानमन्त्री राष्ट्रको कार्यकारी प्रमुखका रूपमा राष्ट्रिय गौरवको प्रतिनिधित्व गर्दै स्पेन गएका हुन्। यो कुनै पार्टी विशेषको हैसियतको भ्रमण होइन।”
उनले प्रधानमन्त्रीसँग गएकाहरूको विवरण आवश्यक परे प्रमाणसहित उपलब्ध गराउन आफूहरू तयार रहेको पनि जनाइन्। सांसद बरालले प्रधानमन्त्रीको भ्रमणबाट देशको गरिमा उच्च बनेको र यस्तो घडीमा प्रश्न उठाउनु राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाइन्। भन्दै उनले भाषाको ज्ञान र अभिव्यक्तिको मर्यादा सिकेर मात्र संसदमा बोल्नुपर्ने चेतावनीसमेत दिइन्। संसदको गरिमा र मर्यादामा रहन आग्रह गर्दै बरालले तथ्यका आधारमा बहस होस् भन्ने अपेक्षा व्यक्त गरिन्।






