मुस्ताङ — उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ छोसेरस्थित चुम्जुङ खोलामा मंगलबार साँझ आएको भीषण लेदोयुक्त बाढीले ६ वटा पुलमा क्षति पुर्याएको छ। नेपाल-चीन उत्तरी सीमावर्ती गाउँ लोमान्थाङ गाउँपालिका-४ छोसेरस्थित चुम्जुङ खोलामा करिब तीन घण्टा भीषण बाढी आएको थियो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार बाढीले लोमान्थाङ–४ मा रहेको एक पक्की पुल र लोमान्थाङ–२ साम्जुङस्थित निर्माणाधीन अर्को एक पक्की पुलसहित तीन वटा काठेपुल र एक फलामे पुल बगाएको छ।
खोलाको बीचमा सञ्चालित एक होटल र न्याम्डो गाउँका दुई घरका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए। मानवीय वा पशुचौपायामा भने क्षति नभएको उनले बताए।
बाढीको बहाव अहिले कम भए पनि जोखिम कायमै रहेकाले इलाका प्रहरी कार्यालय छोसेर र सशस्त्र प्रहरी बल बीओपी नेचुङबाट खटिएको टोलीले स्थानीयलाई सर्तक रहन आग्रह गरेको छ। प्रशासनले मंगलबारदेखि नै सतर्कता अपनाउन आग्रह गरेको छ।






