चितवन – रसुवामा आएको भीषण बाढीले बेपत्ता बनाएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको शव चितवनको त्रिशूली नदी किनारमा फेला परेको छ।
रामेछापको लिखु तामाकोशी गाउँपालिका–४ घर भई हाल रसुवाको इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ४२ वर्षीय श्रेष्ठको शव चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोस्थित त्रिशूली नदी किनारमा भेटिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालका अनुसार शव बायाँ खुट्टामा बुट भएको र दायाँ खुट्टाको घुँडामुनिको भाग नभएको अवस्थामा फेला परेको थियो। अनुसन्धानपछि शव रसुवामा मंगलबार बिहान आएको बाढीमा बेपत्ता भएका प्रहरीकै भएको पुष्टि भएको खनालले जानकारी दिए।
श्रेष्ठ प्रहरी चौकी हाकुमा दरबन्दी भए पनि हाल इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए। मंगलबार बिहान चीनतर्फबाट आएको बाढीले ल्हेन्दे खोला बगाउँदा रसुवागढी नाकामा रहेको भन्सार यार्डमा काम गर्ने कर्मचारीसहित २० जना बेपत्ता भएका थिए। तीमध्ये नौ जना भन्सारकर्मी, तीन जना प्रहरीसहित अन्य नेपाली र चिनियाँ नागरिकहरू थिए।
शव भेटिएको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गोविन्द पुरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शवको पोस्टमार्टमपछि परिवारलाई जिम्मा दिने तयारी गरिरहेको जनाएको छ। प्राकृतिक प्रकोपबाट उत्पन्न विपद् व्यवस्थापनका लागि तयारी अभाव र संरचनागत कमजोरीले घटनाको जोखिम बढाएको स्थानीयले बताएका छन्।






