काठमाडौं – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको मंगलबार दिउँसोसम्म सफल उद्धार गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त उद्धार टोलीले दिउँसो १२:५० बजेसम्म ड्याम क्षेत्रमा फसेका मजदुर तथा कर्मचारीको सुरक्षित रूपमा उद्धार गरेको जानकारी दिएको छ।
उद्धार गरिएकामध्ये ४ महिला र ४६ पुरुष रहेका छन्। तीमध्ये १ जना चिनियाँ नागरिक पनि रहेको पुष्टि भएको छ। सबैलाई झोलुङ्गे पुल प्रयोग गरी हिँडाएर सुरक्षित स्थानमा लगिएको हो। बाढीपछि रसुवागढी हाइड्रोपावर क्षेत्र डुबानमा परेपछि दर्जनौँ व्यक्ति जोखिममा परेका थिए। उद्धार कार्यमा सुरक्षाकर्मीहरू दिनभर खटिएका थिए भने मौसम र भौगोलिक जटिलताका बाबजुद उद्धार कार्य सफल भएको जनाइएको छ।
यसअघि ड्याम क्षेत्र, क्याम्प र आसपासका संरचनामा पनि बाढीले क्षति पुर्याएको थियो। हाल ड्याम क्षेत्रको थप मूल्यांकन तथा मर्मतको तयारी सुरु भएको रसुवा प्रशासन स्रोतले जनाएको छ।






