त्रिशूली नदीको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

काठमाडौं -धादिङ र रसुवाको सिमानास्थित त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणका प्रमुख जलविद्युत् आयोजना प्रभावित भएका छन्। प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार बाढीका कारण करिब २ सय मेगावाट विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ।

सबैभन्दा बढी क्षति रसुवागढी जलविद्युत् आयोजनामा पुगेको छ। १११ मेगावाट क्षमताको उक्त आयोजनाको बाँधको एउटा गेट बाढीले बगाएको छ। त्यस्तै सो आयोजनाको पुलमा पनि गम्भीर क्षति पुगेको छ, जसका कारण सवारी आवागमन रोकिएको छ। टेलरेस क्षेत्रमा भने भौतिक संरचनामा खास क्षति नभए पनि गाद र गेग्रान थुप्रिएको शाक्यले जानकारी दिए।

६० मेगावाट क्षमताको त्रिशुली–३ ‘ए’ आयोजनामा पनि बाढी पस्दा भवनमा क्षति पुगेको आशंका गरिएको छ, यद्यपि पूर्ण विवरण आउन बाँकी छ। साथै त्रिशुली–३ ‘बी’ सबस्टेसन हिलोले ढाकिएको अवस्थामा फेला परेको छ र आयोजनाबाट विद्युत उत्पादन पूर्णरूपमा रोकिएको छ।

चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसमा पानी छिरे पनि संरचनात्मक क्षति नभएको बताइएको छ। तर त्रिशूली किनारमा रहेको प्रसारण लाइनको एउटा बाइपास टावर बगाएको शाक्यले जानकारी दिए।

त्रिशूली करिडोरमा रहेका यी आयोजनाहरू बन्द भएपछि विद्युत् आपूर्तिमा असर परेको छ। प्राधिकरणले क्षतिको मूल्याङ्कन गर्दै मर्मत तथा पुनर्संरचना कार्य अघि बढाउने तयारी गरिरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्