काठमाडौं – नेपाल चिकित्सक संघले आफ्ना मागप्रति सरकार गम्भीर नभएको भन्दै भोलि (असार २४, मंगलबार) आकस्मिक र सघन उपचार (आईसीयू) बाहेकका सम्पूर्ण सेवा बहिष्कार गर्ने घोषणा गरेको छ।
संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले माग सम्बोधनमा कुनै पहल नगरेको भन्दै आन्दोलन जारी रहने जनाएको हो। भोलि बिहान ११ बजे उपत्यकाभित्रका चिकित्सकलाई माइतीघर मण्डलामा र उपत्यकाबाहिरका चिकित्सकलाई सम्बन्धित स्थानमा धर्ना दिन आह्वान गरिएको छ।
संघले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र पनि काउन्सिलमै बुझाउने निर्णय गर्दै चिकित्सकहरूलाई उक्त प्रमाणपत्र बेलुकासम्म इमेलमार्फत उपलब्ध गराउन आग्रह गरेको छ। संघको प्रमुख माग उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २ मा चिकित्सकीय सेवा हटाई स्पष्ट व्यवस्था गरिनु पर्ने रहेको छ। संघले चिकित्सकहरूको पेशागत अभ्यासमा त्रुटि देखिएमा विज्ञद्वारा छानबिन गरी आवश्यक कारबाहीको प्रक्रिया यथावत् राख्नुपर्ने पनि माग गरेको छ। सरकारले वार्ता र समाधानको बाटो नखोजे आन्दोलन थप चर्किने संघको चेतावनी छ।







