प्रधानमन्त्री ओली र रेशम चौधरीबीच भेटवार्ता, सुदूरपश्चिमको राजनीतिक तनावबारे छलफल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीबीच बालुवाटारमा भेटवार्ता भएको छ । दिउँसो सवा १२ बजेदेखि करिब एक घण्टा ‘वान टु वान’ छलफल भएको चौधरीको सचिवालयले जनाएको छ ।

छलफलमा चौधरीले सुदूरपश्चिम प्रदेशमा नाउपाका मन्त्री रामेश्वर चौधरीलाई मुख्यमन्त्री कमलबहादुर शाहले “विनाकारण” हटाएको भन्दै गुनासो राखेका थिए । साथै, उक्त घटनापछि प्रदेश र संघ सरकार दुवैबाट समर्थन फिर्ता लिएको विषयमा पनि कुराकानी भएको हो ।

रेशम चौधरी निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि यस विषयमा छलफल गर्ने बताएका छन् । रेशमले पनि देउवासँग भेट्ने तयारी गरेका छन् । यसअघि देउवाको सन्देश लिएर मुख्यमन्त्री शाह रेशमलाई भेट्न बर्दिया पुगेका थिए भने रेशमले सत्ता समीकरणबारे केन्द्रमै छलफल हुने बताएका थिए ।

नाउपाले शुक्रबार प्रदेश सरकार र शनिबार संघ सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरिसकेको छ । संघीय सरकारका तर्फबाट राज्यमन्त्री रहेका अरुण चौधरीले राजीनामाको तयारी गरे पनि प्रधानमन्त्री ढिला फर्किएकाले आइतबार साँझसम्म राजीनामा बुझाइएको थिएन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्