काठमाडौं – प्रतिनिधिसभाको बैठकअघि सभामुख देवराज घिमिरेको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ। संसद्को आजको बैठकको कार्यसूची तय गर्न बैठक राखिएको हो।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउने प्रमुख कार्यसूची रहेको छ। साथै, संघीय निजामती सेवा विधेयकसम्बन्धी प्रतिवेदनमा देखिएको त्रुटिका विषयमा छानबिन गर्न गठित विशेष समितिको औपचारिक जानकारी पनि सभामुखले बैठकमा दिने कार्यसूचीमा परेको छ।
संसद्को पछिल्ला बैठकहरू रास्वपा र राप्रपाको अवरोधका कारण प्रभावित भएका छन्। दुबै पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता भएको भन्दै राजीनामासहित संसदीय छानबिन समिति गठनको माग गर्दै आएका छन्।
आजको कार्य व्यवस्था परामर्श समिति बैठकमा उक्त अवरोधको निकासका लागि दलहरूबीच छलफल भइरहेको छ। संसदीय स्रोतका अनुसार विवादित विषयहरूबारे सहमति जुटेमा प्रतिनिधिसभाको आजको बैठक सहज ढंगले सञ्चालन हुने अपेक्षा गरिएको छ।
प्रतिनिधिसभाको बैठक केही समयमै बस्ने कार्यतालिका रहेकाले कार्यसूची र दलहरूबीचको सहमतिको प्रक्रिया तीव्र रूपमा अघि बढाइएको छ।






