काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सारिएको छ। सोमबार दिउँसो २ बजेका लागि निर्धारण गरिएको बैठक अब ३:३० बजे बस्ने गरी सारिएको हो।
१६ असारदेखि सुरु भएको बैठकमा हालसम्म अधिकांश केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले आ–आफ्नो धारणा राखिसकेका छन्। आजको बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ, तथा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धारणा राख्ने कार्यक्रम छ।
पार्टी स्रोतका अनुसार ती पाँच शीर्ष नेताहरूको धारणा प्रस्तुत भएपछि बैठक निष्कर्षसहित टुंग्याइनेछ। बैठकमा १२ वटा महत्वपूर्ण एजेन्डा तय गरिएको थियो, जसमा पार्टीको सांगठानिक सुदृढीकरण, आसन्न उपनिर्वाचन तयारी, सरकारसँगको समन्वय, र समसामयिक राजनीतिक विषयहरूमा पार्टीको भूमिका निर्धारणलगायतका मुद्दाहरू छन्।
पार्टी भित्रको आन्तरिक असन्तुष्टि, सांगठानिक पुनर्संरचना, तथा भावी रणनीतिमा एकमत जुटाउने प्रयासस्वरूप यो बैठक महत्वपूर्ण मानिएको छ। अधिवेशन नजिकिँदै जाँदा नेपाली कांग्रेसको यो बैठकले भावी बाटो निर्धारण गर्ने विश्वास गरिएको छ।






