काठमाडौं- नेपालको तातोपानी भन्सार नाकाबाट पहिलोपटक हेलिकप्टर आयात गरिएको ऐतिहासिक अवसरमा सम्पूर्ण ट्रान्सपोर्ट जिम्मेवारी एडो लजिष्टिक (ADO Logistics) ले सफलतापूर्वक पूरा गरेको छ। यस कार्यले नेपाली लजिष्टिक क्षमताको नयाँ सम्भावनाको ढोका खोलेको छ। फ्रान्सको एयरबस कम्पनीमा निर्मित हेलिकप्टर चीनमार्फत नेपाल ल्याइएको हो। खासा (जाङ्बु) पुग्न २० दिन लागेको हेलिकप्टर त्यसपछि खासाबाट तातोपानीसम्म एडो लजिष्टिकको नेतृत्वमा मात्र ४ दिनमा सुरक्षितरूपमा तातोपानी भन्सारसम्म पुर्याइएको हो।
यस सम्पूर्ण जटिल र संवेदनशील प्रक्रियामा रविन खोटेजाको मध्यस्थतामा एडो लजिष्टिकले ट्रान्सपोर्ट व्यवस्थापन, सरकारी समन्वय, कागजी प्रक्रिया र सुरक्षा संयन्त्रको नेतृत्व सम्हाल्यो। विक्रेता कम्पनीले एडो लजिष्टिकक मार्फत तातोपानीसम्म सुरक्षितरूपमा ट्रान्सपोर्ट गर्यो। उक्त हेलिकप्टरको आयातकर्ता माउन्टेन हेलिकप्टर कम्पनी हो ।
“हाम्रो उद्देश्य सधैं सरल होइन, सुरक्षित र भरपर्दो सेवा दिनु हो। यो हेलिकप्टर ढुवानी हाम्रो टिमको योजनाबद्धता, दृढता र प्राविधिक क्षमता को प्रमाण हो। हामी नेपाल र चीनबीचको व्यापारिक सम्बन्धलाई सहज बनाउन समर्पित छौं।” चेयरपर्सन मिसेज दाछुङको भनाइ छ ।
“हामीले चीनतर्फका सबै प्रक्रियालाई सुरुदेखि अन्त्यसम्म अनुगमन गर्यौं। खासाबाट तातोपानीसम्मको मार्ग भौगोलिक रूपमा चुनौतीपूर्ण छ, तर हामीसँग अनुभवी चालक, मार्गविशेषज्ञ र स्थानीय टिम थियो। जसले यो कार्य सफल बनायो।” चाइना डिपार्टमेन्ट एमडी सोनाम पाल्देनले भन्नुभयो ।
“हामीले पहिले नै भन्यौं — हामी सुरक्षितरूपमा ल्याउँछौं। त्यसै अनुसार जिम्मेवारी पायौं र सफलतापूर्वक पूरा गर्यौं। ग्राहकको विश्वास, हाम्रो प्रतिबद्धता हो। नेपाल एमडी भुवन थापाले भन्नुभयो । साथै उहाँले चीनको सान्छी प्रान्तको ताइवन सिटीबाट हेलिकप्टर ल्याइएको समेत बताउनुभयो ।
यस ऐतिहासिक कार्यप्रति नेपाल व्यापार संघका केन्द्रीय अध्यक्ष हरी गौतमले एडो लजिष्टिकलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको छ।उहाँले भन्नुभयो “संवेदनशील वस्तु हेलिकप्टरलाई छोटो समयमा सुरक्षितरूपमा नेपाल ल्याएर तातोपानी नाकाबाट भन्सार प्रक्रिया सम्पन्न गराउनु आफैंमा उदाहरणीय छ। एडो लजिष्टिक जस्ता कम्पनीहरूले नेपाली व्यापार र ढुवानी क्षमताको स्तर उकास्न ठूलो भूमिका खेलिरहेका छन्। हामी यस्ता प्रयासहरूलाई हार्दिक समर्थन र बधाई दिन्छौं।”
२० वर्षभन्दा बढी ढुवानी अनुभव भएको समूहबाट गठन गरिएको एडो लजिष्टिकले सन् २०२२ देखि औपचारिकरूपमा सेवा सुरू गरेको हो। कम्पनीको शाखाहरू ग्वाङ्जाउ, य्वू, खासा, केरुङ, फूप्याङ र काठमाडौं (न्यूरोड) मा छन्। कम्पनीले एक हप्तादेखि १५ दिनको अवधिमै चाइनाबाट नेपालम ट्रान्सपोर्ट गर्दै आइरहेको छ । यो छोटो समयमा गरिने ढुवानी सेवा हो ।
तातोपानी भन्सार प्रमुख राजेन्द्र प्रसाद चुडाल भन्छन्, “तातोपानी नाकाबाट हेलिकप्टर आयात पहिलो हो। यो नयाँ अनुभव हो, र ट्रान्सपोर्ट व्यवस्थापन निकै व्यवस्थित देखियो।” एडो लजिष्टिकले यो ऐतिहासिक हेलिकप्टर ढुवानीमार्फत नेपालमा विशेष, जटिल र सुरक्षित ढुवानी सेवा दिन सक्ने राष्ट्रिय क्षमताको परिचय दिएको छ। यस्ता प्राविधिक लजिष्टिक कार्यमा कम्पनीको अनुभव, व्यवस्थापन र दृष्टिकोण अब सबैको विश्वास जित्दैछ।