एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपाल र सिङ्गापुर आमनेसामने

काठमाडौँ – एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपालले सिङ्गापुरसँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ। बिहीबार सम्पन्न दुवै सेमिफाइनलमा शानदार जित निकाल्दै यी दुई टोली उपाधि भिडन्तका लागि पुगेका हुन्।

पहिलो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियालाई नौ विकेटले पराजित गर्‍यो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसिया ४३ ओभर एक बलमा ९० रनमै समेटिएको थियो। सो लक्ष्य नेपालले ११ ओभर चार बलमै मात्र एक विकेट गुमाएर सहज रूपमा भेटायो। यस जितसँगै नेपाल फाइनलमा पुग्ने पहिलो टोली बन्यो।

नेपाल यसअघि समूह ‘ए’ मा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो। समूह चरणमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ६ विकेटले, दोस्रो खेलमा जापानलाई ९ विकेटले र तेस्रो खेलमा इन्डोनेसियालाई विशाल ३७० रनको अन्तरले पराजित गरेको थियो। लगातार बलियो प्रदर्शनसहित नेपाल उपाधिको बलियो दाबेदारको रूपमा देखिएको छ।

दोस्रो सेमिफाइनलमा सिङ्गापुरले समूह ‘बी’ विजेता हङकङलाई चार विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। सिङ्गापुर समूह ‘ए’ मा नेपालपछि दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको थियो। समूह चरणमा सिङ्गापुरले पनि जापान र इन्डोनेसियालाई पराजित गर्दै राम्रो लय बनाएको थियो।

१६ वर्षमुनिको इस्ट जोन कपको फाइनल खेल पर्सि शनिबार बिहान हुनेछ। नेपाल यस प्रतियोगिताको साविक विजेता पनि भएकाले उपाधि रक्षा गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। उत्कृष्ट बलिङ र आक्रामक ब्याटिङसहित नेपाली टोली प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्