प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले विदेशमा बसोबास गरिरहेका नेपालीहरूलाई स्वदेश फर्किएर देशको विकास र समृद्धिमा सक्रिय योगदान गर्न आग्रह गरेका छन्। स्पेनस्थित प्रवासी नेपाली मञ्चका पदाधिकारी तथा प्रतिनिधिसँग म्याड्रिडमा आयोजित अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले विदेशमा आर्जन गरिएको ज्ञान, अनुभव र पुँजीलाई स्वदेशमा प्रयोग गर्न आह्वान गर्दै उपयुक्त पेसा, व्यवसाय तथा लगानीमार्फत देशको विकासमा सहभागी हुन अनुरोध गरे।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी भई सेभियाबाट म्याड्रिड पुगेका थिए। म्याड्रिडस्थित नेपाली राजदूत निवासमा आयोजित कार्यक्रममा प्रवासी नेपाली मञ्च (एमाले निकट) का प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई स्वागत तथा सम्मान गरेका थिए।
भेटमा प्रधानमन्त्री ओलीले नेपालमा दुई ठूला दलबीचको सहकार्यमा सरकार बनेको उल्लेख गर्दै सभापति शेरबहादुर देउवालाई समयअनुसार सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता दोहोर्याए। उनले विगतमा जस्तै अहिले पनि देशमा स्थायित्व र निकास दिन सफल नेतृत्व कायम रहेको र गठबन्धनभित्र कुनै गम्भीर समस्या नभएको स्पष्ट पारे।
कार्यक्रममा सहभागी हुनेहरूमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार तथा एमाले उपमहासचिव विष्णुप्रसाद रिमाल, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समिति सचिव तथा संगठन विभाग प्रमुख हेम शेर्पा, युरोप महादेश संयोजक मुक्तबहादुर गुरुङ, मञ्च स्पेन अध्यक्ष केदार ढुङ्गाना, म्याड्रिड समिति अध्यक्ष शिवराज सिग्देल, र पोर्चुगल अध्यक्ष दीपक क्षेत्री थिए।
कार्यक्रममा सहभागी प्रतिनिधिहरूले नेपालमा भइरहेको विकास र समृद्धिको यात्राप्रति समर्थन व्यक्त गर्दै प्रवासी नेपालीहरूको सदिच्छा, साथ र सहयोग निरन्तर रहने बताएका थिए।