गायिका एलिनालाई सामाजिक सञ्जालमा अश्लील टिप्पणी गरेको आरोपमा कवि गुन्जन राई पक्राउ

काठमाडौँ — गायिका एलिना चौहानविरुद्ध सामाजिक सञ्जालमा अश्लील र अपमानजनक टिप्पणी गरेको आरोपमा एक व्यक्तिलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति चितवन घर भई हाल ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३ वर्षीय गुन्जन राई हुन्। ब्युरोका सूचना अधिकृत प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार, उनलाई काठमाडौं जिल्ला अदालतमा पेश गरी म्याद थपको तयारी भइरहेको छ।

गायिका चौहानले सामाजिक सञ्जालमा चरित्रहत्या गर्ने, गालीगलौज गर्ने प्रयोगकर्ताहरूविरुद्ध उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यस क्रममा अभियुक्त राईलाई चिनिएको हो। साइबर ब्युरोका अनुसार, राई कवि समेत हुन्। नेपाल प्रज्ञा–प्रतिष्ठानले हालै आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा उनी शीर्ष २५ स्थानमा पर्न सफल भएका थिए।

यसबीच, एलिनासँगै गायिका समीक्षा अधिकारीले पनि सामाजिक सञ्जालमा प्राप्त अभद्र कमेन्ट र म्यासेज सार्वजनिक गर्दै आएकी छन्। दुबैले यस्ता व्यवहारविरुद्ध खुला रूपमा आवाज उठाइरहेकाले कलाकारदेखि राजनीतिज्ञसम्मको साथ र समर्थन पाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले समेत यस्ता गलत प्रवृत्तिविरुद्ध एलिना र समीक्षाको साहसिक कदमको खुलेर प्रशंसा गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्