काठमाडौं – इजरायलमा सहायक श्रमिक (केयरगिभर) को रुपमा छनोट भएका ६६ जना नेपाली श्रमिकहरूलाई करार सम्झौताका लागि सम्पर्कमा आउन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ। विभागले उनीहरूलाई तोकिएको मितिमा कार्यालयमा उपस्थित हुन भनेको हो। इरान–इजरायल युद्धको जोखिम कम भएपछि इजरायलले ६६ जनाको सम्झौता पत्र पठाएको र त्यसपछि भिसा प्रक्रिया अघि बढाउने तयारी स्वरूप उनीहरूलाई बोलाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ।
विभागका अनुसार, क्रम संख्या १ देखि ३३ सम्मका उम्मेदवारहरूलाई असार २० गते बिहान १०:३० बजे र क्रम संख्या ३४ देखि ६६ सम्मका उम्मेदवारहरूलाई असार २२ गते बिहान १०:३० बजे ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ। करार सम्झौता गरी पीआईबीए इजरायल पठाउने र त्यसपछिको भिसा प्रक्रिया इजरायली दूतावासको कन्सुलर डिभिजनमा अघि बढाउने योजना रहेको विभागले स्पष्ट पारेको छ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईका अनुसार, इजरायल–इरानबीचको तनावका कारण केही समयका लागि श्रमिक पठाउने प्रक्रिया रोकिएको थियो। अब परिस्थिति सहज बन्दै जाँदा, सम्झौता प्रक्रियामा पुन: गति आएको हो। यसअघि इजरायल जानका लागि पहिलो लटमा ६०० महिला र ४०० पुरुष गरी १,००० जना नेपाली छनोट भएका थिए। स्वास्थ्य परीक्षणमा ९२३ जना सफल भएका थिए र उनीहरूले पूर्वप्रस्थान अभिमुखीकरण तालिम पनि पूरा गरिसकेका छन्। अब इजरायल सरकारबाट थप करार पत्र प्राप्त भएसँगै अन्य कामदार पनि प्रक्रिया अगाडि बढाउने विभागले विश्वास लिएको छ।