काठमाडौं – नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सञ्चदीय समितिमा सर्वसम्मत रूपमा पारित गरिएको निर्णयमाथि जालझेल भएको बताएका छन् ।
आजको समितिको बैठकमा सांसद बडूले हालै विवादमा परेको संघीय निजामती सेवा विधेयकप्रति इंगित गर्दै समितिको निर्णयलाई बङ्ग्याइएको बताए । उनले भने, “यत्रो समय लगाएर हामीले सर्वसम्मत रूपमा पारित गरेको निर्णयमाथि जालझेल भयो । यो जालझेलमा को–को जोडिएका छन् भन्ने पनि छानबिन हुनु पर्यो ।”
बडूले राष्ट्रिय सभाबाट विधेयकमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सरकार स्वयंले गल्ती स्वीकार गरी संशोधन प्रक्रिया अघि बढाउनु पर्ने बताए । तर अहिलेसम्मको सरकारी धारणा र व्यवहारले यसमा सहयोग हुने सम्भावना न्यून देखिएको उनको टिप्पणी छ ।
“सरकारका तर्फबाट मन्त्रीले संशोधनसहित विधेयक राष्ट्रिय सभामा पेश गर्नु पर्छ,” उनले भने, “तर, सरकार यसप्रति गम्भीर देखिँदैन ।”
सांसद बडूले संसदीय छानबिन समिति गठन गरी विधेयक निर्माण प्रक्रियामा देखिएको अनियमितता तथा जालझेलको छानबिन गर्नुपर्ने माग गर्दै सभामुखले यसमा आवश्यक भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे ।