जनकपुरधाम – जनकपुरमा घरेलु विवादका कारण ज्वाइँले ससुराको चक्कु प्रहार गरी हत्या गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेवप्रसाद विमलको आफ्नै ज्वाइँको हातबाट ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान पौने १० बजे बासुदेवप्रसादलाई उनका ज्वाइँ बेचन महासेठले पेटमा चक्कु प्रहार गरेका थिए। आरोपी बेचन जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय हुन्।
प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार ससुरा र ज्वाइँबीच जग्गासम्बन्धी घरायसी विवाद चलिरहेको थियो। सोही विवादका क्रममा रिसको झोकमा बेचनले ससुरालाई घरमै चक्कु प्रहार गरेका हुन्। घाइते विमललाई तत्काल प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइए पनि साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
चक्कु प्रहारपछि बेचन घटनास्थलबाट फरार भएका छन्। प्रहरीले उनको खोजी जारी राखेको जनाएको छ। घटनाबारे विस्तृत अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृतक बासुदेवप्रसाद विमल जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका रहेको खुलेको छ। आफन्त बीचको झगडा ज्यानसम्पत्ति विवादबाट हत्या सम्म पुग्दा स्थानीय समाजमा त्रास फैलिएको छ। प्रहरीले आरोपीलाई चाँडै नियन्त्रणमा लिइ कानूनी कारबाही अघि बढाइने जनाएको छ।