निजामती सेवा विधेयक विवाद : ‘सभापति र सचिवले पन्छिन मिल्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सांसद हृदयराम थानीले निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी हेरफेरको विषयलाई गम्भीर षड्यन्त्रका रूपमा व्याख्या गर्दै उच्चस्तरीय संसदीय समिति बनाएर छानबिन गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा बोल्दै सांसद थानीले एक व्यक्तिले मात्र यस्तो चलखेल गर्न नसक्ने भन्दै यसमा संगठित शक्ति संलग्न भएको आशंका व्यक्त गरे। ‘एक जनाले मात्र यस्तो गर्न सक्दैन। यसको पछाडि ठूलो समूह छ भन्ने देखिन्छ,’ उनले भने।

सांसद थानीले समितिका सभापति रामहरि खतिवडा र सचिवले ‘थाहा थिएन’ भनेर पन्छिन खोज्नु आपत्तिजनक भएको बताए। ‘टाठा-बाठा सभापति र सचिवले हामीलाई थाहा थिएन भनेर कसरी भन्न सक्छन्?’ उनले प्रश्न गरे, ‘समितिबाट यस्तो षड्यन्त्र भएको सुन्दा दुःख लाग्छ।’

थानीले विधेयकमा भएको छेडछाडलाई संसदीय प्रक्रियाको अपमान भने। उनले दोषीहरूलाई छानबिन गरेर कानूनी दायरामा ल्याइनुपर्ने माग गरे। ‘संसदको धज्जी उडाइएको छ, दोषीहरूलाई उन्मुक्ति दिन मिल्दैन,’ उनले चेतावनी दिए।

थानीले सभापतिलाई सम्बोधन गर्दै निजामती सेवा विधेयकमा हेरफेरको निर्णयमा संलग्न ‘कोर टिम’ को नाम सार्वजनिक गर्न पनि आग्रह गरे। ‘तपाईं टुंगो लगाउने काममा प्रयोग हुनुभयो भने पनि त्यो टोली को थियो भन्ने जानकारी दिनुपर्छ,’ उनले भने। यसअघि नेकपा (एमाले) का सांसदले पनि सभापति र सचिवको राजीनामाको माग गर्दै नैतिक जिम्मेवारी वहन गर्न दबाब दिएका थिए। निरन्तर बढिरहेको संसदभित्रको असन्तुष्टि र शंका-सूचक गतिविधिले निजामती सेवा विधेयक विवाद झनै गहिरिँदै गएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्