काठमाडौं – करिब पाँच वर्षदेखि सर्वोच्च अदालतमा विचाराधीन रहेको ५२ जना संवैधानिक आयोग तथा निकायका पदाधिकारीहरूको नियुक्ति खारेजीसम्बन्धी मुद्दामा आज फैसला हुँदैछ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग र न्याय परिषद्को सदस्यसहितका पदाधिकारीहरूमाथि दायर गरिएको यो मुद्दा संवैधानिक इजलासमा निकै चासोको विषय बनेको छ।
यसअघि मिति तय भएपनि जेठ २८ गते हुने भनिएको फैसलामा न्यायाधीशहरूबीच राय नमिलेकाले फैसला सारिएको थियो। अहिले उक्त मुद्दा संवैधानिक इजलासमा अन्तिम निष्कर्षमा पुग्ने तयारीमा छ।
यो मुद्दाको अन्तिम सुनुवाइ गत जेठ २ गते प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा सम्पन्न भएको थियो। माघ ३० गतेदेखि ‘हेर्दाहेर्दै’मा राखिएको मुद्दालाई इजलासले निरन्तर सुनुवाइ गर्दै आएको हो।
सम्बन्धित नियुक्तिहरू तत्कालीन राष्ट्रपतिबाट संवैधानिक परिषद्को बैठक नबसी गरिएको भन्दै यो मुद्दा परेको हो। नियुक्तिविरुद्ध मुद्दा चलिरहँदा १३ मध्ये ६ वटा संवैधानिक आयोगका प्रमुख पद नै खाली भइसकेका छन् भने अन्य थुप्रै सदस्यहरू उमेर हद लगायतका कारणले अवकाशमा गइसकेका छन्।
यो मुद्दाको फैसला आज सार्वजनिक भएपछि संवैधानिक नियुक्तिका विधि, प्रक्रिया र पारदर्शितामाथि व्यापक बहस र असर पर्ने अनुमान गरिएको छ।