काठमाडौं — सङ्घीय संसद्को राष्ट्रियसभा बैठक आज अपराह्न ११:१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ।
आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगलगायत विभिन्न मन्त्रालयहरूमाथि उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम छ।
यस्तै, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन्।
साथै, आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार विधेयकसमेत पारित गरियोस् भन्ने प्रस्तावहरू अर्थमन्त्री पौडेलले नै पेश गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।
त्यस्तै, सङ्घीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी प्रतिनिधिसभाबाट प्राप्त सन्देश पनि राष्ट्रियसभा बैठकमा टेबुल गरिनेछ।