निजामती सेवा विधेयकमा अनधिकृत छेडछाडप्रति कांग्रेस नेता कोइरालाको आपत्ति, हदैसम्मको कारबाहीको माग

काठमाडौं – निजामती सेवा विधेयकमा अनधिकृत रूपमा भएको परिवर्तनप्रति नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कडा आपत्ति जनाएका छन् । उनले यस घटनालाई केवल सामान्य त्रुटि नभई “देश र जनताप्रति गरिएको घोर अपराध” र “सार्वभौम संसदप्रति गरिएको अपमान”का रूपमा चित्रण गरेका छन् ।

सर्वसम्मतिबाट संसदमा पेस भइसकेको विधेयकमा स्वार्थ समूहको दबाबमा परेर अनधिकृत रूपमा संशोधन गर्नु गम्भीर विषय भएको कोइरालाको भनाइ छ । उनले घटनामा संलग्न सबैलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत भनेका छन्, “यस प्रकरणमा जोडिएकाहरूलाई तुरुन्त हदैसम्मको कारबाही अगाडि बढाऔं र परिवर्तन गरिएको व्यवस्थालाई आजै पुरानै अवस्थामा फर्काऔं ।”

उनले ‘कुलिङ पिरियड’ नराखी विधेयकका थप काम अघि नबढाउन पनि चेतावनी दिएका छन् । कोइरालाले भने, “कुलिङ पिरियड नराखी यस विधेयकका अगाडिका काम कारबाही अगाडि बढ्नु हुँदैन र बढ्दैन ।”

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन कसको संलग्नतामा भएको हो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक नभए पनि यसले राजनीतिक वृत्तमा व्यापक चर्चा र आलोचना निम्त्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्