“मेरो गाउँ, म चिनाउँछु, म भित्राउँछु हाम्रो गाउँमा पर्यटक, आफ्नै गाउँमा बसेर”

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै उल्लेखनीय दुई कार्यक्रम अघि सारेको छ। ‘मेरो गाउँ, म चिनाउँछु, म भित्राउँछु: आफ्नै गाउँमा बसेर’ भन्ने अभियानसहित पर्यटन क्लब निर्माण र सम्पदा संरक्षणसम्बन्धी कार्यक्रमले गाउँपालिकालाई पर्यटनमैत्री मोडेलतर्फ डो¥याउने अपेक्षा गरिएको छ।

गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयहरूमा पर्यटन क्लब गठन गरिनेछ, जसको माध्यमबाट विद्यार्थीलाई स्थानीय सम्पदा, संस्कृति, प्राकृतिक सौन्दर्य र इतिहासबारे जानकारी दिइनेछ। क्लबमार्फत जागरणमूलक अभियान सञ्चालन गर्दै विद्यार्थीहरूलाई “पर्यटन दूत”का रूपमा परिचालन गरिनेछ। यसले विद्यालय तहबाटै स्थानीय पर्यटनप्रतिको चेतना, आत्मीयता र पहिचान निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

त्यस्तै, गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक तथा सांस्कृतिक महत्वका सम्पदाहरूको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाउने नीति अघि सारेको छ। मठ, मन्दिर, गुम्बा, हबेली, लहरेमाने, देउराली, ढुङ्गेधारा, पोखरी, चैत्य, स्तुपाजस्ता सम्पदाहरूको वैज्ञानिक दस्तावेजीकरण र दिगो संरक्षण गरिनेछ।

यी सम्पदाहरूमा बहुभाषिक संकेतचिन्ह, नाम पट्टिका र संक्षिप्त ऐतिहासिक परिचय राखिनेछ भने आधुनिक प्रविधिको प्रयोग गर्दै QR कोडमार्फत जानकारी प्राप्त गर्ने व्यवस्था पनि मिलाइनेछ। यसले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई सहज रूपमा सूचना उपलब्ध गराउने र डिजिटल पर्यटक गाइडको काम गर्ने विश्वास गरिएको छ। गाउँपालिकाको यस्तो दूरदर्शी नीति तथा कार्यक्रमले शिक्षा र पर्यटनको सहकार्यमार्फत स्थानीय विकास, रोजगारी र पहिचान सुदृढ गर्ने आशा गरिएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्