काठमाडौं – सोमबार सेयर बजारको परिसूचक नेप्से ९.१९ अंकले बढेर २६३१ मा पुगेको छ। नेप्सेमा हरियाली देखिए पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आइतबार ७ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको थियो भने सोमबार ६ अर्ब ३८ करोड रुपैयाँमा खुम्चिएको हो।
सोमबार १४५ कम्पनीको सेयर मूल्य बढ्दा १०३ कम्पनीको घटेको छ। समूहगत परिसूचक हेर्दा उत्पादन तथा प्रशोधन समूह सबैभन्दा बढी १.६३ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकिङ ०.३८, विकास बैंक ०.७२, लगानी ०.०२, जीवन बीमा ०.८२, माइक्रोफाइनान्स ०.९२, निर्जीवन बीमा ०.६१, र व्यापार समूह ०.७२ प्रतिशतले उकालो लागेका छन्।
तर फाइनान्स ०.०६, होटल तथा पर्यटन ०.०३, हाइड्रोपावर ०.२८ र अन्य समूह ०.३६ प्रतिशतले घटेका छन्।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा क्रमशः साहस ऊर्जा, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, सप्तकोशी विकास बैंक र एनआरएन इन्फ्रास्ट्रक्चर परेका छन्।
मूल्य वृद्धिको अग्रपङ्क्तिमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन करिब १० प्रतिशतले अगाडि रह्यो। त्यस्तै धौलागिरि लघुवित्त ९.८०, विन नेपाल लघुवित्त ९.१६, सिन्धु विकास बैंक ७.८१, र सप्तकोशी विकास बैंक ७.२१ प्रतिशतले बढेका छन्।
आज सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा पन्चकन्या माइ हाइड्रो ४.९२ प्रतिशतले अगाडि रह्यो। ग्रिन डेभलपमेन्ट बैंक ४.६५, पिपुल्स हाइड्रोपावर ३.७५, पाँचथर पावर ३.४९, र कालिका पावर ३.४२ प्रतिशतले घटेका छन्।