काठमाडौं – सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लामा अति भारी वर्षा भएपछि बाढी र डुबानको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कञ्चनपुरको बेलौरीमा २४ घण्टामा २६७ मिलिमिटर र कैलालीको धनगढी एयरपोर्ट आसपास २०२.२ मिलिमिटर वर्षा मापन गरिएको छ।
वर्षासँगै नदी तथा नालामा पानीको बहाव बढेकाले विभागले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
पुनर्बास र कृष्णपुरमा बाढीको असर, उद्धार कार्य जारी
कञ्चनपुरको पुनर्बास, कृष्णपुरलगायतका ठाउँमा बाढी पसेर केही घर डुबानमा परेका छन्। कृष्णपुर–५ स्थित पवित्रबस्तीकी आरती विकको घरमा पानी पसेपछि प्रहरी टोलीले उनीसहित चार जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।
त्यस्तै, पुनर्बासमा एक घर र बेदकोट–भिमदत्त सिमानाका पाँच घरमा पनि बाढी पसेको छ। यद्यपि हालसम्म मानवीय क्षति तथा ठूलो भौतिक नोक्सानी भने नभएको ढकालले बताए।
प्रशासनले बाढी प्रभावित क्षेत्रमा निगरानी बढाएको छ र संभावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक पूर्वतयारी गरिएको जनाएको छ। स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त स्थानबाट टाढा बस्न अनुरोध गरिएको छ।