काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुँदैछ। पार्टी विधानअनुसार प्रत्येक दुई–दुई महिनामा बस्नुपर्ने बैठक करिब ९ महिनापछि बोलाइएको हो।
बैठकमा भातृ संस्थाहरूको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने एजेण्डा तय गरिएको छ। त्यसैगरी, १०० दिने अभियान अन्तर्गत विभिन्न जिल्लामा खटिएका प्रतिनिधिहरूको प्रतिवेदन पनि पेश गरिनेछ।
साथै, हाल प्रदेश सरकारहरूमा सहभागी कांग्रेसका मन्त्रीहरूले आ–आफ्ना मन्त्रालयबाट सम्पन्न गतिविधिहरूको जानकारी बैठकमा दिने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
पार्टीभित्रको आन्तरिक समन्वय, संगठन विस्तार तथा आगामी राजनीतिक रणनीति तय गर्ने सन्दर्भमा आजको बैठकलाई महत्वपूर्ण रूपमा हेरिएको छ।