प्रहरीमा सहयोगीदेखि हवल्दारसम्मलाई आधारभूत तहको अवधारणा ल्याउने गृहमन्त्रीको प्रस्ताव

काठमाडौं, असार १५ – गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी संगठनभित्र कार्यालय सहयोगीदेखि हवल्दारसम्मका पदलाई ‘आधारभूत तह’ भनेर औपचारिक रूपमा सम्बोधन गर्ने प्रस्ताव अघि सारेका छन्।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री लेखकले प्रहरीको सेवा संरचना र अभिव्यक्तिमा सकारात्मक परिवर्तन आवश्यक रहेको बताए। नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूबारेको छलफलमा उनले उक्त अवधारणा प्रस्तुत गरेका हुन्।

“प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुँदै हवल्दारसम्मलाई पहिले ‘तल्लो तह’ भन्ने गरिन्थ्यो,” उनले भने, “तर मैले नयाँ शब्द प्रारम्भ गरेको छु – अब यस तहलाई ‘आधारभूत तह’ भनेर सम्बोधन गर्नुपर्छ।”उनका अनुसार प्रहरीको यो तह नै संगठनको ‘प्यारामिडको जग’ हो। “१२ देखि १६ घण्टासम्म सडकमा खटिने, प्रत्यक्ष सेवा दिने प्रहरी अधिकतम यही तहमा छन्,” उनले स्पष्ट पारे, “त्यसैले कानुनी रूपमा पनि, बोलचालमा पनि सम्मानसहित ‘आधारभूत तह’ भनौं।”

गृहमन्त्री लेखकले नेपाल प्रहरी ऐनलाई समकालीन आवश्यकताअनुसार परिमार्जन गर्दै संसदमा प्रस्तुत गरिने जानकारीसमेत दिए। उनले ऐनमा ‘आधारभूत तह’ का प्रहरीहरूको सेवा, सुविधा, अधिकार र संरक्षणलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गरे।”नेपाल प्रहरीमा प्रवेशदेखि निवृत्तिसम्मको सम्पूर्ण सेवा यात्रालाई व्यवस्थित, मर्यादित र समावेशी बनाउन यो ऐन निर्णायक हुनेछ,” मन्त्री लेखकले भने। “यो ऐन संवाद र सहकार्यको माध्यमबाट बनाउने हाम्रो साझा प्रतिबद्धता हो।”

नेपाल प्रहरीसम्बन्धी कानुन अहिलेको सन्दर्भमा निकै पुरानो भएको उल्लेख गर्दै उनले यस अधिवेशनमै विधेयक अघि बढाइने प्रतिबद्धता पनि व्यक्त गरे।

सरकारको पहल र संसदको छलफलले यो कानुन समयसापेक्ष, व्यावहारिक र समावेशी बन्ने विश्वास व्यक्त गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्