काभ्रे – देशभर आर्थिक अनुशासनहीनता र सार्वजनिक खर्चमा अपारदर्शिता बढ्दो क्रममा रहेकै बेला काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाले उदाहरणीय कार्य गर्दै बेरुजु शून्य कायम गरेको छ । आर्थिक वर्ष २०७९/८० मा प्रारम्भिक रूपमा देखिएको ५७ लाख रुपैयाँ बेरुजु समेत फर्स्योट गर्दै गाउँपालिकाले लेखापरीक्षणपछि ‘शून्य बेरुजु’ कायम गर्न सफल भएको हो ।
महाभारत गाउँपालिकाको यो सफलता र आर्थिक अनुशासनलाई कदर गर्दै महालेखा परीक्षक कार्यालयले गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बालाई सम्मान गरेको छ । काठमाडौंमा आयोजित ६७औँ वार्षिकोत्सव समारोहमा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखाको प्रशंसापत्र प्रदान गर्दै अध्यक्ष जिम्बाको नेतृत्वमा कार्यान्वयन भएको उदाहरणीय कामको प्रशंसा गरे ।
गत आर्थिक वर्षमा गाउँपालिकाले चालू, पुँजीगत र वित्तीय व्यवस्थातर्फ गरेर कुल ७२ करोड ८८ लाख ६८ हजार रुपैयाँ खर्च गरेको थियो । खर्चको पूर्ण विवरण, पारदर्शिता, र कानुनसम्मत प्रक्रियामा आधारित कार्यशैलीका कारण लेखापरीक्षणको अन्तिम प्रतिवेदनमा शून्य बेरुजु देखिएको महालेखा कार्यालयले जनाएको छ । दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष जिम्बाले गाउँपालिकामा आर्थिक अनुशासन कायम गर्न कानुन र नियमको कडाइका साथ पालना गरिएको बताए । ‘हाम्रो भन्दा पनि कानुनलाई प्राथमिकता दियौं,’ उनले प्रतिक्रिया दिँदै भने, ‘सम्पूर्ण प्रक्रिया कानुनसम्मत रुपमा अगाडि बढाउँदा मात्रै यस्तो नतिजा सम्भव भयो ।’
देशभरका अधिकांश स्थानीय तहहरूमा दोब्बर हुँदै गएको बेरुजुको चक्रव्यूहबीच महाभारत गाउँपालिकाको सफलताको सन्देश स्पष्ट छ— निष्ठा, पारदर्शिता र जिम्मेवार नेतृत्वले स्थानीय सरकारमा पनि आर्थिक सुशासन सम्भव छ । अध्यक्ष जिम्बाले अन्य पालिकाहरूलाई पनि कानुनअनुरूप काम गर्दै वित्तीय अनुशासनमा ध्यान दिन सुझाव दिएका छन् । उनका अनुसार, पालिकाको सानो कसमेत पनि नियमन र पारदर्शिताका आधारमा खर्च गरिनु जरुरी छ । महाभारत गाउँपालिकाको यो कदमले वित्तीय अनुशासन र उत्तरदायित्वप्रतिको नयाँ उदाहरण स्थापन गर्नुका साथै अन्य स्थानीय तहहरूलाई प्रेरणा दिन सक्ने विश्वास गरिएको छ।