काठमाडौँ – प्रतिनिधिसभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच तीखो नोकझोक भएको छ।
सुरुमा बोल्दै सांसद अर्यालले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीविरुद्ध रास्वपाले आन्दोलन गर्दै आएको उल्लेख गर्दै संसदीय छानबिन समिति गठनको माग दोहोर्याए। उनले विगतमा मन्त्रीका पिए बसेर कागज किर्ते गरी मानिस विदेश पठाउनेहरूले नै अहिले संसद्मा बसेर निराधार आरोप लगाइरहेको आरोप लगाए। “सुमिरे टुर्स एन्ड ट्राभल्स मेरो कम्पनी हो, मैले कसैलाई चोरेको छैन। यदि मैले कसैबाट पैसा लिएको प्रमाण छ भने प्रस्तुत गरियोस्,” भन्दै अर्यालले आफूलाई निराधार आरोप लगाउनेहरूको विषय संसद्को रेकर्डबाट हटाउन सभामुखसँग रुलिङ माग गरे।
अर्यालको भनाइसँग असहमति जनाउँदै कांग्रेस सांसद खतिवडा बीचमै उठेपछि सभामुख देवराज घिमिरेले उनलाई रोके। अर्यालको समय सकिएपछि मात्र खतिवडाले जवाफ दिने अवसर पाए। जवाफमा सांसद खतिवडाले कुनै सांसदको नाम नलिएर मात्र निष्पक्ष छानबिनको माग गरिएको स्पष्ट पार्दै भने, “चोरको खुट्टा काट भन्या मात्र हो, खुट्टा आफैँ झिक्न आउँदा किन संसद्मै कराउनु पर्यो?” उनले दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिनुपर्ने तर्क गरे। खतिवडाले भिजिट भिसा प्रकरणसँगै २०९ वटा म्यानपावर कम्पनीलाई अवैध रूपमा अनुमति दिने काममा संलग्न श्रममन्त्रीको छानबिन हुनुपर्ने माग समेत गरे।
संसद्मै आरोप–प्रत्यारोप चलेसँगै भिजिट भिसा प्रकरणको विषय थप राजनीतिक रंग लिँदै गएको छ।