नेपालको ऐतिहासिक जीत, इन्डोनेसियालाई ३७० रनले पराजित गर्दै सेमिफाइनल प्रवेश

काठमाण्डाै –एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले इन्डोनेसियामाथि कीर्तिमानी जीत हासिल गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मलेशियाको सेलाङ्गोर टर्फ क्लबमा भएको खेलमा नेपालले इन्डोनेसियालाई ३७० रनको विशाल अन्तरले पराजित गरेको हो। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रनको विशाल स्कोर बनायो, जुन नेपाली उमेर समूह र राष्ट्रिय टोली दुवैको इतिहासमा एकदिवसीय (५० ओभर) खेलमा सबैभन्दा ठूलो स्कोर हो।

नेपालका प्रसिद्ध जैशीले शानदार शतक प्रहार गर्दै ११४ बलमा १३२ रन बनाए। रौनक श्रीवास्तवले ८८, परिमार्जन यादवले ७१ र जोय थापाले ५७ रनको योगदान दिए। इन्डोनेसियाका केतुत दर्मा पुत्राले २ विकेट लिए। ४२१ रनको विशाल लक्ष्य पछ्याउन उत्रिएको इन्डोनेसिया २४ ओभर ३ बलमै मात्र ५० रनमा समेटियो। कभिन नीरज चड्डाले सर्वाधिक १५ रन बनाए। नेपालका कप्तान विपिनप्रसाद शर्माले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ६ विकेट लिए।

यस जीतसँगै नेपाल समूह ‘ए’ मा लगातार तेस्रो जितसहित शीर्ष स्थानमा उक्लिएको छ र एक खेल बाँकी रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ।नेपालले यसअघि सिंगापुरलाई ६ विकेटले र जापानलाई ९ विकेटले पराजित गरेको थियो। अब नेपालले समूह चरणको अन्तिम खेल पर्सि भूटानसँग खेल्नेछ।  प्रतियोगितामा समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भूटान र जापान छन् भने समूह ‘बी’ मा आयोजक मलेशिया, हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल खेल असार २१ गते, शनिबारका दिन हुने तय भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्