काठमाडौं – भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। गृहमन्त्री रमेश लेखकको राजीनामासहित छानबिनको माग गर्दै रास्वपा लगातार संसद्मा अवरोध गरिरहेको छ। बैठक सुरु हुनासाथ रास्वपाका सांसदहरू वेलमा पुगेर विरोध जनाए। उपसभामुखको आग्रहपछि पनि उनीहरू आफ्नो स्थानमा फर्किएनन्।
सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय छानबिन समिति गठन गरिसकेको छ। तर उक्त समिति प्रभावकारी नहुने भन्दै रास्वपाले अस्वीकार गरेको छ। यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि उक्त समिति अस्वीकार गर्दै आजको बैठक बहिष्कार गरेको छ। राप्रपाका सांसदहरू बैठकको सुरुवातमै सभाकक्षबाट बाहिरिएका थिए।
रास्वपा र राप्रपाले दुवैले स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै सशक्त दबाब दिइरहेका छन्। संसदमा जारी यस गतिरोधले सामान्य विधायी कार्यहरूमा अवरोध सिर्जना गरिरहेको छ।