काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने माग गर्दै आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध गरेको छ। बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरू उठेर विरोधमा उभिए। रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले उक्त प्रकरणबारे ठोस छानबिनको माग पुनः दोहराउँदै पार्टीको अडान यथावत रहेको स्पष्ट पारे।
रास्वपाले गत जेठ १३ गतेदेखि नै संसद्को कामकारबाहीमा भाग लिन छाडेको छ। उक्त समयदेखि निरन्तर दबाबमूलक गतिविधि गर्दै आएको रास्वपाले सरकारबाट ठोस पहल नभएको भन्दै बैठक अवरुद्ध गर्ने रणनीति कायम राखेको हो।
सरकार र सत्तारूढ दलहरूले वार्ता र सहमतिको प्रयास गरे पनि अहिलेसम्म समाधानको दिशा देखिएको छैन। संसद्मा जारी यो गतिरोधले सामान्य विधेयक प्रक्रिया र अन्य महत्वपूर्ण निर्णयहरूमा प्रभाव पारिरहेको छ।