टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित

काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचार मुद्दा लागेका पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेत विशेष अदालतमा उपस्थित भएका छन्। उनले अदालतमा उपस्थित हुन पाउँ भनी निवेदन दिएपछि आज विशेष अदालतको इजलासमा उनको बयान लिइँदैछ।

विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासमा बस्नेतको बयान जारी रहेको छ। बयान सम्पन्न भएपछि आजै थुनछेक बहस पनि हुने तयारी गरिएको छ। बस्नेत सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका बेला टेरामक्स प्रविधि खरिदसम्बन्धी निर्णय गरिएको थियो। सोही निर्णयका आधारमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। मुद्दा दायर भएसँगै उनी प्रतिनिधिसभा सदस्य पदबाट निलम्बनमा परेका छन्।

प्राप्त विवरणअनुसार, २०७४ भदौ २३ मा तत्कालीन मन्त्री बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक बजेट स्वीकृत गरेका थिए। त्यसै निर्णयमा उनले एउटा अतिरिक्त वाक्य जोड्दै इन्टरनेसनल कल मोनिटरिङ र भीओआईपी (VoIP) नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने उल्लेख गरेका थिए।

मुद्दा अघि बढ्नेक्रममा अख्तियारमा बयान दिँदा बस्नेतले आफूले कसैको गोपनीयता भंग गर्ने वा कल विवरण हेर्ने उद्देश्यले उक्त प्रविधि स्थापना गर्न नचाहेको दाबी गरेका थिए। अब अदालतको थुनछेक बहसपछि बस्नेतको मुद्दा कसरी अघि बढ्ने भन्नेमा कानुनी प्रक्रिया महत्त्वपूर्ण बन्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्