राष्ट्रिय स्वतन्त्र पार्टीमा २५ केन्द्रीय सदस्य मनोनयनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका रिक्त केन्द्रीय सदस्य पदमा २५ जना मनोनयन गर्नेबारे आन्तरिक छलफल अघि बढाएको छ। हाल रास्वपामा १२१ केन्द्रीय सदस्य हुने व्यवस्था रहे पनि हालसम्म ६७ मात्र रहेका छन्।

पार्टीका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावमाथि छलफल भएको पुष्टि गरेका छन्। उनका अनुसार हाल रास्वपामा आवद्ध हुन इच्छुक व्यक्तिहरूको संख्या बढ्दो छ। “महाधिवेशन हुन अझै आठ–नौ महिना बाँकी छ,” उनले भने, “त्यसअघिसम्म रास्वपामा आवद्ध हुने इच्छुक व्यक्तिहरूलाई जिम्मेवारी दिन सकिनेबारे छलफल भइरहेको छ।” तर झाका अनुसार यो विषय हालको अवस्थामा प्रस्तावकै रुपमा मात्र रहेको छ।

पार्टीका अर्का एक नेताका अनुसार अन्य दलमा सक्रिय रहेका केही व्यक्ति तथा पूर्वसांसदहरूले रास्वपामा आवद्ध हुन चाहेकाले तिनलाई केन्द्रीय तहसम्मको जिम्मेवारी दिने सम्भावनाबारे पनि छलफल भएको हो। यो विषय यसअघि चैत २७ गते बसेको पार्टी सचिवालय बैठकमा उठाइएको थियो भने पछिल्लो पटक असार १४ गतेको संसदीय दल बैठकमा पनि पुनः छलफलमा आएको थियो।

यता, केही नेताहरूले भने पार्टी महाधिवेशन नजिकिएको सन्दर्भमा केन्द्रीय सदस्य थप्ने निर्णय अहिले नै नगर्नु उपयुक्त हुने राय पनि दिएका छन्। रास्वपाले आगामी फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। यसअघिका संरचना र तयारीलाई सुदृढ गर्न केन्द्रीय सदस्य मनोनयनको प्रस्ताव महत्वपूर्ण ठानिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्