भारी वर्षाका कारण १२ जिल्लामा बाढी, पहिरो र डुबानको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह

काठमाडौं – देशभर मनसुन सक्रिय भएसँगै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार आगामी १६ असारसम्म यी क्षेत्रहरूमा विशेष सावधानी अपनाउनुपर्नेछ।

जोखिममा रहेका जिल्लाहरू
विभागका अनुसार लुम्बिनी प्रदेशअन्तर्गत बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, र सुदूरपश्चिम प्रदेशका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली तथा कञ्चनपुर जिल्लामा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै अन्य प्रदेशका पहाडी भूभागहरूमा पनि एक–दुई स्थानमा भारी वर्षा हुने चेतावनी दिइएको छ।

वर्षासँगै बाढी, पहिरो र डुबानको जोखिम
वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढ्ने भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन, पूर्वतयारी गर्न तथा पूर्वसावधानी अपनाउन आग्रह गरेको छ।

कहाँ कति पानी पर्यो?
गत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशको प्युठान जिल्लास्थित स्याउलीबाङमा मापन गरिएको छ। त्यहाँ १२०.२ मिलिमिटर पानी परेको छ। त्यसैगरी, सिन्धुपाल्चोकको गोब्रे स्टेशनमा १०२.६ मिलिमिटर र कञ्चनपुरको हनुमाननगरमा १०२.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

यात्रामा सावधानी
नदी, खोल्सानजिक नजान, संभावित जोखिमयुक्त क्षेत्रबाट टाढा रहन र अत्यावश्यक यात्रा गर्नु परेमा मौसमको ताजा जानकारी तथा सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्राधिकरणले सर्वसाधारणलाई सुझाव दिएको छ। भारी वर्षाका कारण सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले सावधानी आवश्यक रहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्