दार्चुला- लेकम गाउँपालिकाले नयाँ लोगो (प्रतीक चिह्न) सार्वजनिक गर्दै त्यसको आधिकारिक प्रयोगको निर्णय गरेसँगै गाउँपालिका वडा नं. ४ का अध्यक्ष महेन्द्र जोशीले कडा असहमति जनाएका छन्। उनले उक्त लोगोले लेकमको सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत र मौलिकता प्रतिनिधित्व नगरेको दाबी गर्दै तत्काल प्रयोग रोक्न माग गरेका छन्।
गाउँपालिकाको निर्णयविपरित सार्वजनिक गरिएको लोगोप्रति गम्भीर विमति व्यक्त गर्दै अध्यक्ष जोशीले फेसबुकमार्फत सार्वजनिक अपील गरेका छन्। उनले लेखेका छन्, “लेकम गाउँपालिकाको आफ्नै सान, गौरव, विरासत र ऐतिहासिक अस्तित्व छ। यस लोगोले त्यो प्रतिनिधित्व नगरेको अवस्था छ। त्यसकारण यो हामीलाई स्वीकार छैन।”
उनका अनुसार, स्थानीय तहका जनप्रतिनिधिहरूको सहमति र व्यापक छलफलबिना लोगो परिवर्तन गर्नु लोकतान्त्रिक प्रक्रियाको अवमूल्यन हो। उनले जनताको भावना, सांस्कृतिक प्रतीक र सामुदायिक मूल्यवृद्धिको रक्षा गर्न आफू गाउँपालिकाको बैठकहरूमा विरोध गर्ने र अन्तिमसम्म लड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
जोशीले नयाँ लोगो कुनै सांस्कृतिक सन्देश नबोकेको र लेकमको पहिचानसँग मेल नखाने आरोप लगाएका छन्। उनका अनुसार, “सम्भवत: डिजाइनरको व्यक्तिगत दृष्टिकोणमा आधारित लोगोले लेकमको माटो र जीवनशैलीलाई नबोकेको” देखिन्छ।
साथै, उनले गाउँपालिकालाई यस्तो लोगो तत्काल प्रयोगमा नराख्न अनुरोध गर्दै भविष्यमा सबै वडाका प्रतिनिधिहरूको सहभागितामा मात्र लोगो परिवर्तन गर्ने स्पष्ट प्रक्रिया अपनाउन माग गरेका छन्। एकातर्फ गाउँपालिकाले लोगो निर्माणका लागि प्रक्रिया सम्पन्न गरी निर्णय कार्यान्वयनमा लैजाँदै गर्दा, अर्कोतर्फ स्थानीय तहकै जिम्मेवार जनप्रतिनिधिको असहमति सार्वजनिक रूपमा देखिनुले स्थानीय लोकतन्त्र र सहभागितामूलक निर्णय प्रक्रियाको औचित्यमाथि प्रश्न उठाएको छ।