काठमाडौं – प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधन गर्ने भएका छन्। बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्रीले आफ्नो आसन्न स्पेन भ्रमणबारे जानकारी गराउनुका साथै समसामयिक राजनीतिक र आर्थिक विषयहरूमा धारणा व्यक्त गर्ने कार्यक्रम तय भएको एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन्।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ (FfD-4) मा सहभागी हुन स्पेन प्रस्थान गर्दैछन्। सम्मेलन स्पेनको सेभिल्ला सहरमा आयोजना हुँदैछ।
उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्। यो भ्रमण राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा हुन लागेको हो।
बैठकमा सम्बोधनकै क्रममा प्रधानमन्त्री ओलीले नेपालको सहभागिता, सम्मेलनमा उठाउने मुद्दाहरू, र आगामी दिनमा नेपालको भूमिका तथा अपेक्षा बारे संसदलाई जानकारी दिने अपेक्षा गरिएको छ।