काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ स्पेन प्रस्थान गर्दैछन्। उनले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन (FfD–4)’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
यो सम्मेलन स्पेनको सेभिल्ला सहरमा आयोजना हुँदैछ, जसमा प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणामा सहभागी हुँदै छन्। सम्मेलन असार १६ देखि १९ गतेसम्म चल्नेछ।
विश्वभरका सरकार प्रमुख, अन्तर्राष्ट्रिय वित्तीय संस्था, व्यापारिक समुदाय, नागरिक समाज तथा यूएन प्रणालीका प्रतिनिधिहरू सहभागी हुने यो सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु राष्ट्रहरूका पक्षमा वकालत गर्ने तयारी गरेको छ। विशेष गरी, सम्पन्न मुलुकहरूले गरिब राष्ट्रहरूलाई दिने लगानी र सहयोगको कार्यान्वयनबारे गम्भीर छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई औपचारिक रूपमा सम्बोधन गर्नुका साथै स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट तथा प्रधानमन्त्री सान्चेजसँग द्विपक्षीय वार्ता गर्नेछन्। साथै, विभिन्न राष्ट्रका नेताहरूसँग साइडलाइन भेटघाट पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री ओली आज साँझ ६ बजे कतारको दोहा हुँदै स्पेनको राजधानी म्याड्रिड जाने तालिका रहेको छ। उनी असार २० गते शुक्रबार साँझ ४:४५ बजे नेपाल फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
यस भ्रमणमार्फत नेपालले युरोपेली मुलुकहरूबाट लगानी भित्र्याउने र स्पेनसहित युरोपका पर्यटकहरूलाई आकर्षित गर्ने विश्वास गरिएको छ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा कुल २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डल स्पेन प्रस्थान गर्दैछ, जसमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय लगायतका उच्च पदस्थ अधिकारीहरू सहभागी छन्। स्पेन र न्युयोर्कबाट थप ८ जना मिलेर कुल २९ जना नेपाली प्रतिनिधि सम्मेलनमा सहभागी हुनेछन्।
त्यस्तै, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापा पनि प्रतिनिधिमण्डलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।