काठमाडौं – संघीय संसदको प्रतिनिधि सभा आज बिहान ११ः०० बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने बैठकमा बजेटसम्बन्धी विधेयकहरू पारित गर्ने सम्भावित कार्यसूची तय गरिएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आजको बैठकमा ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गरी पारित गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। साथै, ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ समेत पारित गर्ने सम्भावित कार्यसूचीमा समावेश गरिएको सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले जानकारी दिएका छन्।
यसबाहेक, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे सदनलाई जानकारी गराउने कार्यक्रम पनि आजको बैठकमा समावेश गरिएको छ।
प्रधानमन्त्री ओली आजै स्पेन प्रस्थान गर्दै छन्। उनी संयुक्त राष्ट्रसङ्घद्वारा आयोजना गरिएको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै छन्।