काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजाअनुसार सबैभन्दा धेरै विद्यार्थी गणित विषयमा अनुत्तीर्ण भएका छन्। राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा गणितमा १ लाख २८ हजार २१५ विद्यार्थी नन ग्रेडेड रहेको उल्लेख गरिएको छ, जुन कुल परीक्षार्थीमध्ये सबैभन्दा ठूलो अनुपात हो।
यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली (थ्योरी)मा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५०, र वैकल्पिक गणितमा १८ हजार २२२ विद्यार्थी अनुत्तीर्ण भएका छन्।
यस वर्ष ४८ हजार १७७ विद्यार्थीले ३.६ देखि ४.० सम्मको जीपीए ल्याएका छन्। गत वर्षको तुलनामा नतिजामा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष ४७.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए भने यसपालि त्यो संख्या बढेर ६१.८१ प्रतिशत पुगेको छ।