काठमाडाैँ- राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ बसेको बैठकपछि कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा सार्वजनिक गरेको छ। बोर्डका अनुसार नियमिततर्फ सहभागी ४ लाख ३८ हजार ८९६ विद्यार्थीमध्ये ६१.८१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।
यसपटक ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको छ भने ३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३५५ जना छन्। त्यस्तै, २.८ देखि ३.२ जीपीए ल्याउने विद्यार्थी ९९ हजार १२४, २.४ देखि २.८ ल्याउने ४८ हजार ४७९, २ देखि २.४ ल्याउने ४ हजार १२६ र १.६ देखि २.० ल्याउने ८ जना रहेका छन्।
बोर्डका अनुसार १२६ विद्यार्थीको परीक्षा रद्द गरिएको छ। परीक्षा गत चैत ७ गतेदेखि सञ्चालन भएको थियो। यसपटक नियमित र ग्रेड वृद्धि गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।