श्रवणदृष्टि विहीनताकाे सशक्त आवाज: अन्तर्राष्ट्रिय दिवसको मान्यता

काठमाडौं— श्रवणदृष्टि बिहीन व्यक्तिहरूको अधिकार सुनिश्चित गर्ने दिशामा ऐतिहासिक कदम चालेको संयुक्त राष्ट्रसंघले जुन २७ तारिखलाई ‘अन्तर्राष्ट्रिय श्रवणदृष्टि बिहीन दिवस’ को रूपमा घोषणा गरेको छ। १६ जुन २०२५ (असार १, २०८२) मा संयुक्त राष्ट्रसंघ महासभाले सर्वसम्मत रुपमा प्रस्ताव A/79/L.92 पारित गर्दै उक्त निर्णय लिएको हो।

विश्व श्रवणदृष्टि बिहीन महासंघ (WFDB) को नेतृत्वमा र क्रोएसिया सरकारको पहलमा तयार भएको उक्त प्रस्तावमा नेपालले सह–प्रस्तावक राष्ट्रको भूमिका निर्वाह गर्नु अपांगता आन्दोलनका लागि एक गर्वको विषय भएको बताइएको छ।

अपांगता अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि CRPD को पक्ष राष्ट्रका रुपमा नेपालले यस निर्णयमा अग्रसरता लिएकोमा सरोकारवाला संस्थाहरूले सरकारलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

हेलेन केलरको जन्मदिनमा विशेष सम्मान

जुन २७ को यो दिवस श्रवणदृष्टि बिहीन अवस्थामै उल्लेखनीय योगदान दिएकी महान प्रेरणामयी व्यक्तित्व हेलेन केलर को जन्मदिनलाई सम्मान गर्दै चयन गरिएको हो। यस निर्णयले श्रवणदृष्टि बिहीनतालाई विशिष्ट र अलग प्रकारको अपांगता भनेर औपचारिक मान्यता दिएको छ।

नेपाल सरकारले समेत श्रवणदृष्टि बिहीनतालाई ‘अपाङ्गता अधिकार ऐन’ मा विशिष्ट अपांगताको रूपमा परिभाषित गरेको छ। उक्त ऐनअनुसार:

“श्रवण दृष्टिविहीन अपाङ्गता भन्नाले सुनाइ र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रियसम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति भन्ने बुझिन्छ।”

सशक्तीकरण र समावेशीकरणको सन्देश

संयुक्त राष्ट्रसंघको प्रस्तावमा सदस्य राष्ट्रहरू र निकायहरूलाई श्रवणदृष्टि बिहीन व्यक्तिहरूको समावेशीकरण र सशक्तीकरणमा सक्रिय भूमिका खेल्न आह्वान गरिएको छ।
यस दिवसले निम्न प्रमुख मुद्दाहरूमा विशेष ध्यान दिन प्रोत्साहन दिएको छ—

  • श्रवणदृष्टि बिहीन व्यक्तिहरूका सञ्चारका अधिकार सुनिश्चित गर्ने,
  • गमनशिलता र स्वावलम्बन को लागि सेवा र प्रविधिको पहुँच विस्तार गर्ने,
  • शिक्षा र सामाजिक जीवनमा प्रभावकारी समावेशीकरण सुनिश्चित गर्ने।

यस सन्दर्भमा नेपाल सरकार, नागरिक समाज, अपांगता सम्बन्धी संस्थाहरू र समुदायहरूलाई आगामी वर्षदेखि यो दिवसलाई ‘हेलेन केलर सप्ताह’ का रूपमा मनाउने र श्रवणदृष्टि बिहीन व्यक्तिहरूको संघर्ष, आवाज र योगदानको सम्मान गर्न अपील गरिएको छ।

“हामी एउटाले मात्र थोरै गर्न सक्छौं; सँगै मिलेर धेरै गर्न सक्छौं।” — हेलेन केलर

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्