काठमाडौं — माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा छिट्टै सार्वजनिक हुने सम्भावना बढेको छ। नतिजा प्रकाशनका लागि आवश्यक निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक अहिले काठमाडौंमा जारी रहेको छ।
परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसार बोर्डको बैठक एसईईको नतिजा प्रकाशन प्रक्रिया अन्तिम चरणमा पुगेपछि बोलाइएको हो। “नतिजा तयार भइसकेको छ, तर प्रकाशनको निर्णय बोर्डको बैठकबाटै हुने भएकाले अहिले बैठक चलिरहेको छ,” उनले बताए।
एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि देशभर एकसाथ सुरु भएको थियो। यस परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ विद्यार्थी र ग्रेड वृद्धि (पुरक)तर्फ ६७ हजार ७१५ जना गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
नतिजा आजै साँझ वा भोलिसम्म सार्वजनिक हुने सम्भावना उच्च रहेको स्रोतले जनाएको छ। बोर्डले नतिजा प्रकाशनसँगै विभिन्न वेबसाइट तथा एसएमएसमार्फत हेर्न सकिने व्यवस्था मिलाउने तयारी गरेको छ।