श्रवणदृष्टि विहीन अपाङ्गता : बुझाइ, समस्या र समाधान परिचय

समाजमा सबै प्रकारका व्यक्तिहरु समान अधिकारसहित बाँच्न पाउँछन् भन्ने सोचका साथ विकसित हुँदै गएको आधुनिक विश्वमा पनि केही वर्गका व्यक्तिहरु अझै पनि मौलिक अधिकारबाट बञ्चित छन् । यस्तै संवेदनशील र कम बुझिएको अपाङ्गता वर्गमा श्रवणदृष्टि विहीनता (Deafblindness) पर्छ । यो अपाङ्गता अन्य भन्दा जटिल, बहुआयामिक र उच्च सहयो तथा समर्थन आवश्यक पर्ने खालको हो । नेपालमा गरेको अपाङ्गताको १० वटा वर्गमध्ये श्रवणदृष्टि विहीनता एक पृथक तथा विशेष वर्गका रूपमा मानिएको छ ।श्रवणदृष्टि विहीनता भनेको के हो ?नेपाल सरकारद्वारा पारित “अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४” अनुसार, श्रवणदृष्टि विहीनता भन्नाले “ सुनाइ सम्बन्धी र दृष्टिसम्बन्धी दुवै अपाङ्गता भएको वा दुईवटा इन्द्रिय सम्बन्धी अपाङ्गताको संयुक्त अन्तरक्रिया रहेको व्यक्ति ” भनि बुझिन्छ । यस्तो अवस्थामा रहेका व्यक्तिहरू न त राम्रोसँग देख्न सक्छन् न त सुन्न नै । २०७८ सालको जनगणनामा अनुसार नेपालमा १०,१८७ जना श्रवणदृष्टि विहीनता भएका व्यक्ति रहेका छन् तथ्यांक छ तर यो तथ्यांकबाट धेरै बालबालिका छुटेको अनुमान गरिन्छ ।श्रवणदृष्टि विहीनता हुनुका कारणहरूयो अपाङ्गता विभिन्न कारणले हुन सक्छ:• जन्मजात कारण (जस्तै: वंशानुगत प्रभाव, चार्ज सिन्ड्रोम, असर सिन्ड्रोम)• समयपूर्व जन्म (३७ हप्ताभन्दा कम)• जन्मसँधै कम तौल (२.५ किलो भन्दा कम)• अक्सिजनको कमी वा अधिकता• किटनासक औषधिको प्रयोग• संक्रमण (गर्भावस्थामा हुने रुबेला, मीनिन्जाइटिस आदि)• दुर्घटना वा उमेरको प्रभावप्रकारहरूश्रवणदृष्टि विहीनता मुख्यतः दुई आधारमा वर्गीकृत हुन्छ :१. भाषिक विकासको आधारमा:• भाषिक विकास नभएका: जन्मेदेखि नै दुवै इन्द्रियमा समस्या हुने ।
• भाषिक विकास भएका : जन्मपश्चात कुनै कारणले श्रवण वा दृष्टि गुमाउने ।
२. गाम्भिर्यताको आधारमा:
• बहिरा र पूर्ण दृष्टिविहीन
• न्यून दृष्टियुक्त र बहिरा
• दृष्टिविहीन र सुस्त श्रवण
• सुस्त श्रवण र न्यून दृष्टि
मुख्य समस्याहरू
सञ्चार, जानकारीको आदानप्रदान र दैनिक जीवनका सबै क्रियाकलापमा यी व्यक्तिहरूलाई ठूलो चुनौती हुन्छ । मानवले लगभग ९५ प्रतिशत जानकारी दृष्टि र श्रवणबाट लिन्छ । जब यी दुवै माध्यम अवरुद्ध हुन्छन्, बाँकी तीन इन्द्रियहरू – स्पर्श, स्वाद र गन्ध – मार्फत मात्र सूचना प्राप्त गर्नुपर्छ, जुन अत्यन्तै सीमित र कठिन हुन्छ।
अत श्रवणदृष्टि विहीनता भएका व्यक्तिहरू,
• दैनिक जीवनयापनका लागि अरुमा निर्भर हुनुपर्छ ।
• आत्मपहिचानमा समस्या हुन्छ (लिङ्ग, उमेर बुझ्न समस्या)
• सामाजिकीकरण कठिनाइ हुन्छ ।
• विचार, भावना व्यक्त गर्न कठिनाइ हुन्छ
• हिँडडुल तथा गन्तव्य पत्ता लगाउन अत्यन्तै कठिन
सरकारी नीति तथा कार्यक्रमको अभाव
संघीयता स्थापना भइसकेपछि पनि संघ, प्रदेश र स्थानीय तहमा श्रवणदृष्टि विहीन व्यक्तिहरूका लागि लक्षित ठोस कार्यक्रमहरू, नीति र योजना अझै नभएको देखिन्छ । यस्तो अवस्थाले नीति निर्माणकर्ताहरूले अझै यस अपाङ्गतालाइ स्वीकार गरेको देखिदैन ।
सम्भावना र समाधान
सकारात्मक पक्ष हेर्ने हो भने, उपयुक्त वातावरण र अवसर प्राप्त भएमा यी व्यक्तिहरू पनि आत्मनिर्भर भएर आफ्नो जीवन सञ्चालन गर्न सक्षम हुन्छन् । गास, बास, कपडा, शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारीजस्ता मौलिक हकहरू उनीहरूले पनि बराबरीमा उपभोग गर्न पाउने अधिकार राख्छन् ।
यसका लागि यी कुराहरू आवश्यक छन् :
• उनीहरूको पहुँच योग्य पूर्वाधार विकास
• प्रशिक्षित सहायक जनशक्ति
• सञ्चार माध्यमहरूको विकास
• लक्षित शिक्षात्मक तथा रोजगारी कार्यक्रम
• सहायक प्रविधिको प्रयोग
सञ्चारका विधिहरू
श्रवणदृष्टि विहीन व्यक्तिहरूसँग सञ्चार गर्न विभिन्न प्रविधि र तरिकाहरू प्रयोग गर्न सकिन्छ:
• स्पष्ट र ठूलो आवाज ( सुस्त श्रवण क्षमता भएका व्यक्ति)
• साङ्केतिक भाषा ( श्रवणदृष्टि विहीन व्यक्तिको नजिकमा गएर )
• स्पर्श संकेत (श्रवणदृष्टि विहीन व्यक्तिलाइ स्पर्श गराएर )
• ह्यापटिक संकेत (Haptic Communication) – शरीरको विशेष भागमा छुवाएर वा कुनै संकेत थिच्ने आदि
• फिन्गर ब्रेल प्रणाली – औँलामा ब्रेल अक्षर लेख्ने
• हातमा लेख्ने विधि
• ओठ पढ्ने विधि
• टाडोमा (Tadoma) विधि – व्यक्तिको ओठ र गालामा हात राखी आवाजको महसुस गर्ने
निष्कर्ष
श्रवणदृष्टि विहीनता एक जटिल तर व्यवस्थापन गर्न सकिने अपाङ्गता हो । यस्ता व्यक्तिहरूलाई समाजमा पूर्णरूपमा समावेश गराउनका लागि राज्यको उत्तरदायित्व, परिवारको सहयोग, र प्रविधिको उपयोग अनिवार्य छ । नीति निर्माण तहबाट सजगता, शिक्षा प्रणालीमा पहुँच, रोजगारीका अवसर, सहायक प्रविधी लगायतका सेवा सेवा सुविधाहरू राज्यले कार्यान्वयन गर्नुपर्ने देखिन्छ ।

लेखक :दुर्गा दत्त जोशी, सिनियर प्रशिक्षक, राष्ट्रिय बहिरा महासंघ नेपाल

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्