रुपन्देही–३ को उपनिर्वाचन : दलहरूमा टिकट दौड, उम्मेदवार छनोटमा तीव्र राजनीतिक सक्रियता

बुटवल – रुपन्देही–३ को प्रतिनिधिसभा उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूभित्र उम्मेदवार चयनको होड तीव्र भएको छ। राप्रपाका सांसद दिवंगत दीपक बोहराको निधनपछि रिक्त बनेको यस क्षेत्रमा निर्वाचन आयोगले कार्तिक दोस्रो साताका लागि निर्वाचनको तयारी थालेको छ। मतदाता नामावली संकलन सुरु भएसँगै मुख्य दलहरूभित्र उम्मेदवारका आकांक्षीहरूको चहलपहल उल्लेख्य बनेको छ। सर्वाधिक चर्चा एमाले पोलिटब्युरो सदस्य खिमलाल भट्टराईको छ। उनले केही दिनअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटको तस्बिर सार्वजनिक भएपछि टिकट पक्का भएको चर्चा चले पनि पार्टीले आधिकारिक निर्णय भने गरिसकेको छैन।

गत आम निर्वाचनमा रुपन्देही–५ बाट उम्मेदवारी दर्ता गरेका भट्टराईले आफ्नै पार्टीका बासुदेव घिमिरेसँगको प्रतिस्पर्धामा विवाद निम्त्याएका थिए। यसपटक फुस्किएको टिकट हात पार्न खोजेको बताइएको छ। तर दधिराम न्यौपाने, शशि पौडेल, भरत पोखरेल र हरि अधिकारी पनि एमालेबाट आकांक्षीको रूपमा अगाडि छन्। एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले अहिले उम्मेदवारबारे पार्टीमा औपचारिक छलफल नभएको बताएका छन्। नेपाली कांग्रेसभित्र प्रमोद यादव, रामचन्द्र ढकाल र भरत शाहको नाम चर्चामा छ। यादव अघिल्लो निर्वाचनमा रुपन्देही–४ बाट जसपाका सर्वेन्द्रनाथ शुक्लासँग पराजित भएका थिए। उनीलाई टिकट दिँदा निर्वाचन क्षेत्र नछाड्ने भन्ने भय कांग्रेसभित्र छ।


भरत शाह र रामचन्द्र ढकाल पनि अघिल्ला निर्वाचनमा पराजित उम्मेदवार हुन्। यद्यपि कांग्रेस सचिव हरि काफ्लेले कसैले औपचारिक रूपमा टिकटको माग नराखेको बताएका छन्। राप्रपाका दिवंगत सांसद दीपक बोहराका छोराहरू गौरव बोहरा र प्रज्ज्वल बोहरा, नातिनी स्वाती थापा तथा पूर्वमेयर सागरप्रताप राणा आकांक्षीका रूपमा अगाडि छन्। युवाहरूको एक हिस्साले अन्तर्राष्ट्रिय अनुभव भएकी र सामाजिक रूपमा सक्रिय स्वाती थापालाई सशक्त उम्मेदवारका रूपमा अघि सारिरहेका छन्। राप्रपा प्रदेश अध्यक्ष प्रदीप उदयले पार्टीले अहिले उम्मेदवारबारे औपचारिक निर्णय नगरेको र सर्वसम्मत उम्मेदवार छनोट गरिने बताएका छन्।

रास्वपा रुपन्देही ३ लाई अत्यन्त महत्त्वका साथ लिँदै गृहकार्यमा जुटेको छ। २०७९ को निर्वाचनमा समानुपातिकतर्फ १४ हजार १५४ मत ल्याएको रास्वपाले यो क्षेत्रमा जित्ने सम्भावना देखेको बताइन्छ। तर उम्मेदवार चयनबारे निर्णय नभएको र गठबन्धन वा सहमतिबाट अघि बढ्ने सम्भावना खुला राखिएको छ।रास्वपा का नेताहरूको आशंका छ— आफूहरूले जित्ने संकेत देखिएमा सत्ता गठबन्धनले चुनाव नै नगराउने प्रयास गर्न सक्छ।

मधेशी मतदाताको प्रभावशाली उपस्थिति भएकाले संघीय लोकतान्त्रिक मोर्चाभित्र साझा उम्मेदवारको खोजी भइरहेको छ। नागरिक उन्मुक्ति पार्टी, लोसपा, जसपा, जनमत पार्टी, राष्ट्रिय मुक्ति पार्टीलगायत सात दलको सहभागितामा छलफल जारी छ। नाउपाका अध्यक्ष रेशम चौधरीले आफ्ना उम्मेदवारलाई सघाउन प्रस्ताव गरेका थिए, तर सहमति हुन सकेको छैन। त्यसैगरी नेकपा एकीकृत समाजवादीका कमल भण्डारीलाई साझा उम्मेदवार बनाउने प्रस्ताव पनि छलफलमा रहेको बताइएको छ।

बालेन शाह समर्थकहरूले पनि उपयुक्त उम्मेदवारको खोजीमा रहेका छन् र रास्वपासँग सहकार्यको सम्भावना पनि खोलिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्